२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

अक्षय तृतीया आज: परम्परा, स्वास्थ्य र समृद्धिको संगम


३९२७ पाठक संख्या
  • २०८३ बैशाख ७, सोमबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । ७ वैशाख । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया देशभर धार्मिक आस्था र परम्पराका साथ मनाइँदैछ। गर्मीयामको सुरुवातसँगै शरीरलाई शीतलता दिने जौको सातु र सर्वत सेवन गर्दै यो पर्व मनाउने चलन रहिआएको छ।

    पञ्चाङ्ग निर्णायक समिति का अनुसार यही तिथिदेखि त्रेता युगको प्रारम्भ भएको विश्वास गरिन्छ। साथै आजकै दिन भगवान् परशुराम को जन्म भएकाले यसलाई परशुराम जयन्तीका रूपमा समेत मनाइन्छ।

    धार्मिक मान्यताअनुसार आजकै दिन भगवान् शिव र देवी पार्वती को विवाह सम्पन्न भएको विश्वास छ। त्यसैले आजका दिन स्नान, पूजा, दान तथा अन्य शुभकार्यलाई विशेष महत्वका साथ हेरिन्छ।

    ज्योतिषशास्त्रअनुसार सूर्य र चन्द्रमा दुवै उच्च राशिमा रहने भएकाले यो दिनलाई ‘स्वयंसिद्ध मुहूर्त’ मानिन्छ। यस कारण विवाह, गृहप्रवेश, पदभार ग्रहण, नयाँ व्यवसाय सुरु, भूमि पूजा, सवारी साधन तथा सुन–चाँदी खरिदजस्ता कार्य पञ्चाङ्ग नहेरी पनि गर्न सकिने विश्वास छ।

    ‘अक्षय’ शब्दको अर्थ नाश नहुने भन्ने भएकाले आजका दिन गरिएको दान, धर्म र पुण्य कार्यबाट अक्षय फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसैकारण यो तिथि दानधर्मका लागि अति उत्तम मानिन्छ।

    वैशाख महिनालाई भगवान् विष्णु को महिना मानिने भएकाले यस अवधिमा विष्णु भक्ति, व्रत तथा पूजाआजालाई पनि विशेष फलदायी मानिन्छ।

    यसरी, अक्षय तृतीया धार्मिक आस्था, सांस्कृतिक अभ्यास र सकारात्मक सोचको संगमका रूपमा मनाइँदै आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार