काभ्रेपलाञ्चोक । मानवीय सेवामा अग्रणी संस्था नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको ४९औं वार्षिक सभा शनिबार बनेपामा सम्पन्न भएको छ।
सभाको उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले रेडक्रसको गरिमा र विश्वसनीयता कायम राख्दै जिम्मेवार ढंगले सेवा कार्यमा लाग्न आग्रह गर्नुभयो। उहाँले रेडक्रसजस्तो मानवतावादी संस्थालाई राजनीतिबाट पूर्ण रूपमा मुक्त राख्न सके सहयोगी तथा दाताहरूको उल्लेख्य सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो। “रेडक्रसप्रतिको जनविश्वास जोगाउनु सबैको दायित्व हो, म पनि तपाईंहरूसँगै सहकार्य गर्दै अघि बढ्नेछु,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रदेश सभा सदस्य सोना परियारले आफ्नो विद्यार्थी जीवनको अनुभव सुनाउँदै जेसिजमार्फत रेडक्रसका लागि चन्दाबक्सामा सहयोग संकलन गरेको स्मरण गर्नुभयो। उहाँले रेडक्रसको मानवीय भूमिकालाई अझ सशक्त बनाउन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन कुनै कञ्जुस्याईं नहुने स्पष्ट पार्नुभयो।
सभाका सभापति देवेन्द्रप्रसाद भैलले शाखाले रक्त सेवा विस्तारका लागि महत्वाकांक्षी योजना अघि सारेको जानकारी दिनुभयो। उहाँका अनुसार ब्लड बैंक सुदृढीकरणका लागि २ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएकोमा हालसम्म ४२ लाख ६० हजार रुपैयाँ संकलन भइसकेको छ। उहाँले जिल्लाका विभिन्न पालिकासँग सहकार्य गर्दै धुलिखेल र मेथिनकोट अस्पतालसहित बेथानचोक, धुलिखेल, बनेपा, पाँचखाल र मण्डनदेउपुरका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। साथै, विन्धवासिनी साकोस, सामुदायिक साकोस र ज्योति मिर्मिरे साकोससँग पनि आफ्ना शेयर सदस्यहरूलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरिएको उल्लेख गर्नुभयो।
यसैबीच, शाखाअन्तर्गत रहेका ३४ उपशाखामध्ये १३ वटाले मात्र आफ्नो वार्षिक गतिविधि विवरण पेश गरेको जानकारी दिँदै उत्कृष्ट कार्यसम्पादनका आधारमा पनौती उपशाखा प्रथम, मंगलटार दोस्रो र खोपासी तेस्रो घोषित गरिएको थियो। विजयी उपशाखाहरूलाई नगद पुरस्कार तथा प्रशंसा–पत्र प्रदान गरिएको छ। अन्य उपशाखाहरूलाई समयमै विवरण पेश गरी संस्थागत सक्रियता बढाउन आग्रह गरिएको थियो।
कार्यक्रममा स्थानीय तहको सक्रिय सहभागिता पनि देखिएको थियो। बनेपा नगरपालिका–७ का वडा अध्यक्ष हिटलर शाक्यले वडा कार्यालयका तर्फबाट १ लाख १५ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गर्नुभयो भने बेथानचोक नारी चेतना केन्द्रकी कोषाध्यक्ष शान्ति खत्रीले दुई थान रक्तदान कुर्सी सहयोग गर्नुभयो।
सो अवसरमा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, रेडक्रस बागमती प्रदेशका महासचिव रामजी पौडेल, भक्तपुर शाखाका सभापति परशुराम पाण्डे, पूर्व सभापति श्यामसुन्दर श्रेष्ठ लगायतले रेडक्रसको सेवा विस्तार, पारदर्शिता र समन्वयात्मक भूमिकामा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा रेडक्रस काभ्रेका उपसभापति ज्ञानबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपमन्त्री प्रदीप केसीले धन्यवाद ज्ञापन गर्दै जिल्लाका १३ वटै पालिकामा तदर्थ समिति गठन गरी निर्वाचन प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो। उहाँले रेडक्रसकर्मीहरूलाई राजनीतिक आस्थाभन्दा माथि उठेर निस्वार्थ सेवाभावमा समर्पित हुन विशेष आग्रह गर्नुभयो।
सभा शाखा सभापति देवेन्द्रप्रसाद भैलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन मन्त्री राजु सिग्देलले गर्नुभएको थियो भने कोषाध्यक्ष प्रेमकुमार तामाङले आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। साथै, उपसभापति पुष्पा खड्काले विशिष्ट सदस्यता प्राप्त गर्ने व्यक्तिहरूको प्रमाणपत्र वाचन गर्नुभएको थियो भने कार्यसमिति सदस्य शान्ति खत्रीले रेडक्रसका सात सिद्धान्त वाचन गर्दै कार्यक्रमलाई औपचारिक समापनतर्फ अघि बढाउनुभएको थियो।
समग्रमा, यस वार्षिक सभाले रेडक्रसको संस्थागत सुदृढीकरण, सेवा विस्तार र राजनीतिमुक्त चरित्र कायम गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस