१५ वैशाख, काठमाडौं । देशका विभिन्न स्थानमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमका कारण हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक तयारी गर्न मौसमविद्ले सुझाव दिएका छन्।
जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा वैशाख १५ र १६ गतेका लागि ‘पहेँलो संकेत’ जारी गर्दै मौसमको अद्यावधिक जानकारी लिएर मात्र दैनिक कामकाज गर्न आग्रह गरेको छ।
विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार यी दुई दिनमा विशेषगरी पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा मध्यम हिमपात पनि हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सावधानी अपनाउन भनिएको छ।
उनका अनुसार वैशाख १५ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने भारी वर्षा वा हिमपात हुन सक्नेछ।
यस्तै, वैशाख १६ गते पनि वर्षाको क्रम जारी रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। सोही दिन कोशी र मधेशका एक–दुई स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षा हुन सक्ने बताइएको छ।
हाल गण्डकी प्रदेशका लमजुङ, कास्की, पर्वत र स्याङ्जाका साथै बागमती प्रदेशको नुवाकोटका केही स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ। लमजुङको बेँसीसहरमा एक घण्टामै १२.२ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ, जुन मध्यम वर्षाको श्रेणीमा पर्छ।
मौसमविद्का अनुसार यो वर्षाले अत्यधिक गर्मी, डढेलो र वायु प्रदूषण घटाउन सहयोग पुर्याउनेछ। केही दिनयता तराई क्षेत्रमा देखिएको चर्को गर्मी पनि वर्षासँगै कम भई मौसम शीतल बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस