२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

बनेपामा ज्ञानकुञ्जको छैठौं ‘रोड रेस–२०८३’ हुँदै, विद्यार्थी सहभागिता र सुरक्षामा विशेष जोड


४८३७ पाठक संख्या
  • २०८३ बैशाख १५, मंगलबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित बनेपामा २४ वर्ष अगाडि छुट्टै पहिचानका साथ स्थापना भएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा छैठौं ‘ज्ञानकुञ्ज रोड रेस–२०८३’ आयोजना गरिने भएको छ। विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना, अनुशासन तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

    आगामी वैशाख २६ गते शनिबार बिहान ५ः३० बजेदेखि सुरु हुने उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। छात्र र छात्रा गरी दुई समूहमा हुने प्रतियोगितामा छात्रतर्फ ७ किलोमिटर र छात्रातर्फ ३.५ किलोमिटर दूरी तय गरिएको छ।

    विद्यालयका प्रबन्ध निर्देशक प्रताप वैद्यका अनुसार प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष तयारी गरिएको छ। उनका अनुसार दौड अवधिभर स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स तयारी अवस्थामा रहनेछ भने विभिन्न स्थानमा पिउने पानीको व्यवस्था गरिनेछ। साथै, दुई वटा बस, मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी साधनमार्फत सहभागी विद्यार्थीहरूको सुरक्षाका लागि स्कटिङ्ग व्यवस्था गरिने उनले जानकारी दिए।

    प्रतियोगितामा छात्र र छात्रा दुवै समूहका विजेताहरूलाई छुट्टाछुट्टै रूपमा पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार कुल एक लाख २० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ भने समग्र कार्यक्रम व्यवस्थापनका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

    प्रतिष्ठानले यस किसिमका खेलकुद कार्यक्रममार्फत विद्यार्थीहरूमा स्वस्थ जीवनशैलीको विकास, आत्मविश्वास वृद्धि र सामाजिक सहकार्यको भावना अभिवृद्धि हुने अपेक्षा गरेको छ। विगतका संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेकाले यस वर्षको प्रतियोगिता अझ व्यवस्थित र प्रभावकारी हुने आयोजकको विश्वास छ।

    प्रतियोगितामा सहभागिता जनाउन इच्छुक विद्यार्थीहरूले २०८२ सालको एसईई परीक्षा प्रवेशपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहित आवेदन दिनुपर्नेछ। नाम दर्ताको अन्तिम मिति वैशाख २४ गते तोकिएको छ।

    आयोजकले जिल्लाभित्रका सम्पूर्ण विद्यालय, अभिभावक तथा सरोकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार