काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकालाई चालु आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।आज, बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा नगर प्रमुख तथा पालिकास्तरीय खोप समितिका संयोजक महेश खरेलको अध्यक्षता र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दीपककुमार गौतमको प्रमुख आतिथ्यतामा उक्त घोषणा गरिएको हो।
पूर्णखोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिन्छ, जसले निश्चित उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्छ। पाँचखाल नगरपालिका यस उपलब्धि हासिल गर्ने काभ्रेपलाञ्चोक जिल्लाको चौथो पालिका बनेको छ। यसअघि नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले पूर्णखोप सुनिश्चितता अन्तिम लक्ष्य नभई दीर्घकालीन स्वास्थ्य सुरक्षाको प्रारम्भिक चरण भएको बताए। उनले बालबालिकाको स्वास्थ्यप्रति अभिभावकहरू जति सचेत छन्, त्यत्तिकै खोपप्रति पनि जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए। “खोप नपाएका बालबालिकामा दीर्घकालीन रोगको जोखिम उच्च हुन्छ, त्यसैले समयमै खोप लगाउनु अपरिहार्य छ,” उनले भने।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले पाँचखालले सबै आवश्यक सूचक पूरा गर्दै पूर्णखोप पालिका बन्न सफल भएको जानकारी दिए। उनले छिट्टै जिल्लाका सबै १३ वटै पालिकालाई पूर्णखोप सुनिश्चितता अभियानमा समेट्ने लक्ष्य रहेको बताए। न्यौपानेका अनुसार राज्यले एक बालबालिकालाई नियमित खोप उपलब्ध गराउन करिब ७ हजार रुपैयाँ खर्च गर्दै आएको छ भने २३ महिनासम्मको खोप कार्यक्रमका लागि प्रति बालबालिका ५० हजार रुपैयाँभन्दा बढी लगानी गरिन्छ।
उनले नेपालमा अझै पनि खोप अभावका कारण दैनिक औसत २३ बालबालिकाको मृत्यु हुने तथ्यांक प्रस्तुत गर्दै यस अवस्थालाई न्यूनीकरण गर्न खोपको पहुँच र जनचेतना दुवै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, खोपको गुणस्तर कायम राख्न आधुनिक, वातानुकूलित खोप केन्द्रको स्थापना र व्यवस्थापनमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिए।
नगर प्रमुख महेश खरेलले नगरपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहेको स्पष्ट पार्दै नागरिकको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी वर्ष जिल्लामै पहिलो पूर्णखोप सुनिश्चित पालिका बन्ने लक्ष्यसहित थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए। “आजको घोषणा हाम्रो लागि अन्तिम बिन्दु होइन, अझ मजबुत र दिगो स्वास्थ्य प्रणाली निर्माण गर्ने सुरुवात हो,” उनले भने।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी सबैले प्रत्येक बालबालिकाको खोप पाउने अधिकार सुनिश्चित गर्न साझा प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीका अनुसार हाल १६ देखि २३ महिनाभित्रका २८५ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन्। वडागत विवरणअनुसार वडा नं. ६ र १२ मा सबैभन्दा बढी ४९/४९ जना बालबालिका पूर्णखोपयुक्त रहेका छन् भने वडा नं. ११ मा सबैभन्दा कम ५ जना रहेका छन्। अन्य वडाहरूमा पनि खोपको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको जनाइएको छ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा केवल उपलब्धि मात्र नभई निरन्तर निगरानी, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने दायित्व पनि हो। पाँचखाल नगरपालिकाले यस दिशामा महत्वपूर्ण पाइला चालेको भन्दै सरोकारवालाहरूले प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस