२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

पलाञ्चोक भगवतीमा चण्डी पूर्णिमा महोत्सव भव्य रूपमा सुरु, चर्चित कलाकारको प्रस्तुतीले पाँचखाल गुञ्जायमान


११९०९ पाठक संख्या
  • २०८३ बैशाख १८, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिर परिसर यतिबेला चण्डी पूर्णिमा महोत्सवका कारण सांगीतिक र सांस्कृतिक उत्साहले गुञ्जायमान बनेको छ । मनोकामना पूरा हुने शक्तिपीठका रूपमा प्रसिद्ध यस स्थलमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम शुक्रबारदेखि भव्य रूपमा सुरु भएको हो ।

    पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा उल्लेख्य जनसहभागिता देखिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको सशक्त प्रस्तुतीले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ ।

    महोत्सवमा चर्चित गायिका रचना रिमाल, लोकप्रिय कलाकार सर्जक लामिछाने, गायक विशाल काल्तान, गायिका टिका प्रसाई, समीक्षा गौतम, राजेश बर्देवा, राजेश कामाल, रिया खड्का, रति खड्का, आशिष लाम्बा, राज श्रेष्ठ (राजावाला) तथा प्रविण गिरी लगायत कलाकारहरूले आफ्ना चर्चित गीत–संगीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएका छन् । उनीहरूको प्रस्तुतीमा दर्शक नाचगानमा रमाएको दृश्यले महोत्सवको रौनक झनै बढाएको थियो । कार्यक्रमलाई अझ आकर्षक बनाउने क्रममा प्रस्तोताका रूपमा गायक जी.पी. खत्री र सञ्चारकर्मी रमिता बुर्जाको सक्रिय सहभागिता रहेको छ । उनीहरूको समन्वयले कार्यक्रम व्यवस्थित र रोचक बनेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

    यो बृहत् सांस्कृतिक कार्यक्रम पाँचखाल नगरपालिकाको प्रमुख सहयोगमा कालिका युवा क्लब, एकता युवा क्लब, एकीकृत पहरी युवा क्लब, पलाञ्चोक गैह्रीगाउँ युवा क्लब, धन्द्रेखोला नेवा समाज लगायत विभिन्न संघ–संस्थाको सहकार्यमा आयोजना गरिएको हो । साथै आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था को–अपरेटिभ पार्टनरका रूपमा जोडिएको छ ।

    नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विगत तीन वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो कार्यक्रमले स्थानीय प्रतिभा उजागर गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको आयोजकको भनाइ छ ।

    इतिहास अनुसार मानदेवकालमा स्थापना भएको मानिने पलाञ्चोक भगवती मन्दिरमा दर्शन गरेपछि मनोकामना पूरा हुने जनविश्वास रहेको छ । यही आस्थाका कारण चण्डी पूर्णिमा, नवरात्रि, चैते दशैं, शनिबार तथा मंगलबारका दिन यहाँ ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गर्दछ ।

    विशेषगरी चण्डी पूर्णिमाको अवसरमा यहाँ तीन दिनसम्म मेला लाग्ने परम्परा छ । पूर्णिमाको अघिल्लो दिन पुरातात्त्विक शैलीमा निर्माण गरिएको रथलाई बाजागाजासहित मन्दिर परिसरमा भित्र्याइन्छ । त्यसपछि भक्तजनहरू रातभर जाग्राम बसेर दीप प्रज्वलन गर्ने गर्छन् । दोस्रो दिन बिहान गणेश मन्दिर र कालिका मन्दिरको दर्शन पश्चात् भगवतीको दर्शन गर्ने धार्मिक परम्परा रहेको छ ।

    उद्घाटन कार्यक्रम बृहत् सांस्कृतिक मेला आयोजक समितिका अध्यक्ष प्रकाश चन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष हेमबहादुर श्रेष्ठ (प्रविन)ले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष संजय तामाङ, वडा नं. ९ का अध्यक्ष रामकाजी श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष सुन्दर तामाङ, वडा नं. ५ का अध्यक्ष शिताराम ढुंगाना तथा पूर्व वडा अध्यक्ष किरण श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्दै यस्ता कार्यक्रमले स्थानीय पहिचान र संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताउनु भएको थियो ।

    कार्यक्रम सञ्चालन सुमन कुँवरले गर्नुभएको थियो भने आर्थिक विभाग प्रमुख राधाकृष्ण श्रेष्ठले कार्यक्रमको उद्देश्य र व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो । सभाध्यक्ष श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

    महोत्सव शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आगामी दिनमा थप सांगीतिक प्रस्तुती, धार्मिक गतिविधि तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने छन्, जसले पाँचखाललाई केही दिनसम्म सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार