काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिका–९ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पलाञ्चोक भगवती मन्दिरमा आयोजित सांस्कृतिक कार्यक्रम ‘अमर्यादित नृत्य’ विवादमा तानिएको छ। सामाजिक सञ्जाल तथा स्थानीय तहमा उठेको आलोचनापछि पुरातत्व विभागले औपचारिक रूपमा चासो देखाउँदै सम्बन्धित निकायसँग स्पष्टीकरण मागेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले वैशाख २५ गते पत्राचार गर्दै पाँचखाल नगरपालिका कार्यपालिका कार्यालय र वडा नं. ९ लाई घटनाबारे विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ। पुरातत्व अधिकृत हरिप्रसाद भुसालद्वारा हस्ताक्षरित उक्त पत्रमा मन्दिर परिसरभित्र आधुनिक बत्ती जडान गरिएको तथा धार्मिक–सांस्कृतिक मर्यादाविपरीत गीत तथा नृत्य प्रस्तुत गरिएको सूचना प्राप्त भएको उल्लेख गरिएको छ।
विभागले पलाञ्चोक भगवती जस्तो ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सम्पदास्थलमा यस्ता गतिविधि हुनुलाई गम्भीर विषयका रूपमा लिएको छ। “सम्पदास्थलको मौलिकता, धार्मिक आस्था र सांस्कृतिक गरिमा कायम राख्नु सबै सरोकारवालाको दायित्व हो,” पत्रमा उल्लेख गर्दै विभागले भविष्यमा आफ्नो पूर्वस्वीकृति बिना कुनै पनि निर्माण, जडान वा कार्यक्रम सञ्चालन नगर्न कडा चेतावनी दिएको छ।
साथै, घटनाबारे यथार्थ विवरण यथाशीघ्र उपलब्ध गराउन र आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन सचेत गराइएको छ। पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई समेत पठाइएको छ, जसले प्रशासनिक निगरानी थप सुदृढ हुने संकेत गरेको छ।
यस विषयमा वडा नं. ९ का अध्यक्ष रामकाजी श्रेष्ठसँग सम्पर्क सम्पर्क गर्दा हुन नसके पनि आयोजक पक्षले भने आफ्नो धारणा सार्वजनिक गरेको छ। आयोजक समितिका आर्थिक विभाग प्रमुख राधाकृष्ण श्रेष्ठले कार्यक्रमको उद्देश्य सांस्कृतिक संरक्षण रहेको दाबी गरे।
“पलाञ्चोक भगवती क्षेत्र ऐतिहासिक तथा धार्मिक रूपमा अत्यन्त संवेदनशील स्थान हो। यहाँ लोप हुँदै गएको परम्परा र संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले हामीले सांस्कृतिक कार्यक्रम आयोजना गरेका हौं,” उनले भने।
उनका अनुसार २०७२ सालको भूकम्पपछि जात्रामा सहभागी संख्या उल्लेख्य रूपमा घटेको थियो। “पहिले दुई–तीन सयमा सीमित हुने सहभागिता पछिल्ला वर्षहरूमा पाँच हजारभन्दा माथि पुगेको छ। यसमा सांस्कृतिक कार्यक्रमले सकारात्मक भूमिका खेलेको छ,” श्रेष्ठले बताए।
कार्यक्रम मन्दिरको मुख्य परिसरभन्दा करिब ३०० मिटर टाढा, जात्राको अघिल्लो दिन (चण्डी पूर्णिमाको अवसरमा) आयोजना गरिएको उनको भनाइ छ। “उक्त दिन मन्दिरमा मुख्य जात्रा नभई दर्शन मात्रै हुने भएकाले सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको थियो,” उनले स्पष्ट पारे।
विवादित नृत्यबारे स्पष्ट पार्दै उनले भने, “कलाकार रिया खड्काले आयोजकको पूर्वजानकारीबिना एक्कासि नृत्य प्रस्तुत गर्नुभयो, जुन हाम्रो कार्यक्रमको उद्देश्य र सन्दर्भअनुसार उपयुक्त थिएन। हामीले सुरु हुनेबित्तिकै उक्त प्रस्तुति रोक्यौं।”
श्रेष्ठका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन लोकदोहोरी शैलीका प्रस्तुति प्राथमिकतामा राखिएको थियो र कलाकार व्यवस्थापनको जिम्मा कलाकार सरोज लामिछानेलाई दिइएको थियो। “हाम्रो लक्ष्य आधुनिकता र परम्परालाई सन्तुलित गर्दै संस्कृति जोगाउनु हो, न कि मर्यादा भंग गर्नु,” उनले थपे।
पलाञ्चोक भगवती मन्दिर २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको एक महत्वपूर्ण शक्तिपीठ हो। पुनर्निर्माणको क्रममा मन्दिरको गजुर, छाना, शिलालेख तथा अन्य संरचनात्मक पक्षमा मौलिकता हराएको भन्दै स्थानीयस्तरमा समय–समयमा असन्तुष्टि व्यक्त हुँदै आएको छ।
यद्यपि पछिल्ला वर्षहरूमा स्थानीय युवा क्लब, धार्मिक अगुवा तथा सरोकारवाला समूहहरू मन्दिरको संरक्षण र सांस्कृतिक परम्पराको जगेर्नाका लागि सक्रिय रूपमा जुटिरहेका छन्। उनीहरूले परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राख्दै आएका छन्।
हालको विवादले सम्पदास्थलमा कार्यक्रम सञ्चालन गर्दा अपनाउनुपर्ने संवेदनशीलता, मापदण्ड र समन्वयको आवश्यकता झन् स्पष्ट बनाएको छ। सम्बन्धित निकायबीच समन्वय अभाव हुँदा सानो घटनाले पनि ठूलो विवादको रूप लिन सक्ने देखिएको छ।
अब पुरातत्व विभागले मागेको स्पष्टीकरणपछि यस विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ भने आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्दा स्पष्ट मापदण्ड र पूर्वस्वीकृति अनिवार्य हुने संकेत समेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस