२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

पाँचखालको एसईई नतिजामा नवप्रतिभाको ऐतिहासिक सफलता, काभ्रेका ११ ‘४ जिपिए’ मध्ये पाँचखालबाट एक मात्रै नवप्रतिभाको गौरवपूर्ण उपलब्धि


१३३९१ पाठक संख्या
  • २०८३ बैशाख २९, मंगलबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा पाँचखाल नगरपालिकाका विद्यालयहरूले मिश्रित तर उल्लेखनीय नतिजा हासिल गरेका छन् । सामुदायिक विद्यालयतर्फ केही विद्यालयको नतिजा कमजोर देखिए पनि संस्थागत तथा शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालयहरूले उत्कृष्ट सफलता हासिल गरेका छन् ।
    विशेषगरी पाँचखाल नगरपालिका वडा नं. ६ ढुंगानाबेशीस्थित नवप्रतिभा माध्यमिक विद्यालयले नगरकै उत्कृष्ट नतिजा निकाल्दै नयाँ इतिहास रचेको छ । काभ्रेपलाञ्चोक जिल्लाभर ४ जिपिए ल्याउने ११ जना विद्यार्थीमध्ये पाँचखाल नगरपालिकाबाट एक मात्र विद्यार्थीका रूपमा नवप्रतिभा विद्यालयकी छात्रा अपसना श्रेष्ठले शतप्रतिशत नतिजासहित ४ जिपिए प्राप्त गर्न सफल भएकी हुन् ।


    यससँगै नवप्रतिभा माध्यमिक विद्यालय पाँचखाल नगरपालिकाबाट ४ जिपिए ल्याउने एकमात्र विद्यालय बनेको छ । अझ विशेष कुरा के छ भने, नवप्रतिभा काभ्रे जिल्लाकै पहिलो सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालय हो ।
    विद्यालयले केवल उत्कृष्ट नतिजा मात्र निकाल्न सकेन, नगरको शैक्षिक प्रतिष्ठा उकास्ने कार्यसमेत गरेको छ । पाँचखाल नगरपालिकाभित्र रहेका संस्थागत ६ विद्यालयमध्ये नवप्रतिभा माध्यमिक विद्यालय, गोल्डेन फ्युचर अंग्रेजी बोर्डिङ स्कुल र सरस्वती शिक्षा गृह अंग्रेजी बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका छन् ।
    यद्यपि पाँचखाल भ्याली अंग्रेजी बोर्डिङ स्कुल, इन्द्रेणी विद्या मन्दिर अंग्रेजी बोर्डिङ स्कुल र नमस्ते अंग्रेजी बोर्डिङ स्कुल भने शतप्रतिशत नतिजा ल्याउन असफल भएका छन् ।
    त्यसैगरी सामुदायिक विद्यालयतर्फ पाँचखाल नगरपालिकामा रहेका १३ विद्यालयमध्ये केवल जोरपाटी माध्यमिक विद्यालयले मात्र शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको पाँचखाल नगरपालिका शिक्षा शाखाले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

    सामुदायिक विद्यालयहरूको समग्र नतिजा भने अपेक्षाकृत कमजोर देखिएको छ । कुल ३४३ विद्यार्थी सहभागी भएकामध्ये २३७ जना मात्र ग्रेडेड भएका छन् भने १०५ जना ननग्रेड भएका छन् । सामुदायिक विद्यालयको औसत उत्तीर्ण प्रतिशत करिब ६९.०९ प्रतिशत रहेको छ । विशेषगरी महाकाल माध्यमिक विद्यालयको नतिजा निकै कमजोर देखिएको छ । उक्त विद्यालयबाट एसईईमा सहभागी ३४ विद्यार्थीमध्ये केवल ६ जना मात्रै ग्रेडेड हुन सफल भएका छन् ।
    यता संस्थागत विद्यालयतर्फ १५२ विद्यार्थी सहभागी भएकामध्ये १४९ जना ग्रेडेड भएका छन् भने केवल ३ जना ननग्रेड भएका छन् । संस्थागत विद्यालयहरूको औसत उत्तीर्ण प्रतिशत ९८.०२ प्रतिशत पुगेको छ ।
    समग्रमा पाँचखाल नगरपालिकाको एसईई नतिजा ७७.१७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको नतिजा निकै प्रभावशाली देखिए पनि नवप्रतिभा माध्यमिक विद्यालयले भने शैक्षिक गुठी प्रणालीमार्फत सामुदायिक र संस्थागत दुवै मोडेलबीच उत्कृष्टताको उदाहरण प्रस्तुत गरेको छ ।


    ४ जिपिए प्राप्त गरी पाँचखालको नाम उच्च बनाउन सफल छात्रा अपसना श्रेष्ठलाई बधाई दिन पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल स्वयं विद्यालय पुग्नुभएको थियो । नगरप्रमुख खरेलले अपसनालाई सम्मानसहित बधाई ज्ञापन गर्दै उहाँको मेहनत, अनुशासन र सफलताले सम्पूर्ण विद्यार्थीलाई प्रेरणा दिएको बताउनुभयो । उहाँले पाँचखालको शैक्षिक पहिचानलाई नयाँ उचाइमा पुर्याउन सफल भएको भन्दै अपसनाका पिता फाल्गुण कुमार श्रेष्ठलाई समेत सम्मान गर्नुभएको थियो ।
    कार्यक्रममा नगरप्रमुख खरेलले “पाँचखाललाई शैक्षिक हबका रूपमा विकास गर्न नगरपालिकाले गुणस्तरीय शिक्षामा निरन्तर लगानी र सहयोग गर्ने” प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
    विद्यालय परिवारले यो सफलता शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक मेहनतको परिणाम भएको जनाएको छ । विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय, प्रविधिमैत्री तथा प्रतिस्पर्धी शिक्षा प्रदान गर्दै पाँचखाललाई जिल्लाकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार