२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

संस्कारयुक्त शिक्षाबाट जिम्मेवार नागरिक उत्पादन गर्न सकिन्छ : मेयर भण्डारी


४३१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा “नैतिक तथा मानव मूल्य एवं परम्परागत जीवनोपयोगी शिक्षा” सम्बन्धी दुई दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा नैतिकता, अनुशासन, संस्कार तथा जीवनोपयोगी व्यवहार विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै पनौती नगर मेयर रामशरण भण्डारीले आधुनिक शिक्षा प्रणालीसँगै नैतिक शिक्षा र मानवीय मूल्यको विकास अपरिहार्य बनेको बताउनुभयो । उहाँले पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै विद्यार्थीहरू शैक्षिक रूपमा सक्षम बन्दै गए पनि सामाजिक व्यवहार, संस्कार, अनुशासन तथा मानवीय संवेदनशीलतामा कमी देखिन थालेको उल्लेख गर्नुभयो ।

    “विद्यालयले विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने होइन, जिम्मेवार, अनुशासित र समाजप्रति उत्तरदायी नागरिकका रूपमा तयार गर्नुपर्छ,” मेयर भण्डारीले भन्नुभयो, “नैतिक शिक्षा र जीवनोपयोगी सीपबिना शिक्षाको उद्देश्य पूर्ण हुन सक्दैन ।”

    उहाँले शिक्षकहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको चरित्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । शिक्षक, अभिभावक र समाजबीच प्रभावकारी सहकार्य हुन सके मात्र विद्यार्थीमा सकारात्मक सोच, संस्कारयुक्त व्यवहार तथा सामाजिक उत्तरदायित्व विकास हुने उहाँको भनाइ थियो ।

    मेयर भण्डारीले पछिल्लो समय समाजमा बढ्दै गइरहेका दुर्व्यसन, हिंसा, असामाजिक गतिविधि तथा अनुशासनहीन प्रवृत्तिलाई न्यूनीकरण गर्न विद्यालय तहदेखि नै नैतिक शिक्षामा जोड दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार स्थानीय तहले शिक्षामा गुणस्तर सुधारसँगै संस्कारमूलक तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    उहाँले परम्परागत ज्ञान, संस्कृति र जीवनशैलीलाई आधुनिक शिक्षासँग जोड्न सके विद्यार्थीहरूमा आफ्नो मौलिक पहिचानप्रति सम्मान र जिम्मेवारीबोध विकास हुने बताउनुभयो । “हामीले आधुनिक प्रविधि सिकाउनुपर्छ, तर आफ्ना संस्कार, संस्कृति र मानवीय मूल्य बिर्सनु हुँदैन,” उहाँले थप्नुभयो ।

    त्यसैगरी नगर उपमेयर गीता बञ्जाराले विद्यार्थीलाई सानैदेखि नैतिकता, अनुशासन र सामाजिक उत्तरदायित्वबारे शिक्षा दिन सके मात्र सभ्य र जिम्मेवार नागरिक उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले विद्यालय, अभिभावक र समुदायबीच सहकार्य गर्दै नैतिक शिक्षालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । शिक्षा शाखा निर्देशक प्रणराज न्यौपानेको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगम ले गर्नुभएको थियो ।

    आयोजकका अनुसार तालिममा नैतिक शिक्षा, मानव मूल्य, परम्परागत संस्कार, व्यवहारिक जीवन सीप, विद्यार्थीको चरित्र निर्माण, सकारात्मक सोचको विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिनेछ । कार्यक्रमले विद्यालय तहमा संस्कारयुक्त, अनुशासित, आत्मविश्वासी तथा सकारात्मक सोच भएका विद्यार्थी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार