काभ्रेपलाञ्चोक । चौरीदेउराली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भई आउनुभएका चक्र बहादुर श्रेष्ठ लाई गाउँपालिकाले औपचारिक तथा भव्य स्वागत गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित स्वागत कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रेणुका चौलागाई ले नयाँ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत गर्दै गाउँपालिकाको प्रशासनिक नेतृत्व थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहमा सुशासन कायम गर्दै जनतालाई छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्नु नै गाउँपालिकाको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष चौलागाईले विकास निर्माणका योजनाहरूलाई पारदर्शी, उत्तरदायी तथा परिणाममुखी ढंगले अघि बढाउन प्रशासनिक संयन्त्र र जनप्रतिनिधिबीच समन्वय अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सडक पूर्वाधार लगायतका क्षेत्रमा गाउँपालिकाले अघि सारेका योजनाहरूलाई सफल बनाउन कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो ।
उहाँले कर्मचारीहरूलाई जिम्मेवारीप्रति थप संवेदनशील र उत्तरदायी बन्न आग्रह गर्दै सेवाग्राहीमैत्री व्यवहार र कार्यसम्पादनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । “स्थानीय सरकारप्रति नागरिकको भरोसा बढाउने गरी काम गर्न आवश्यक छ,” अध्यक्ष चौलागाईले भन्नुभयो ।
त्यसैगरी पदभार ग्रहणपछि मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले गाउँपालिकाको समग्र प्रशासनिक कार्यलाई पारदर्शी, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय समुदायसँग सहकार्य र समन्वय गर्दै विकास र सेवा प्रवाहलाई थप व्यवस्थित बनाइने बताउनुभयो ।
श्रेष्ठले कर्मचारीहरूबीच सकारात्मक कार्यसंस्कृति विकास गर्दै कार्यालयको कामकारबाहीलाई समयमै सम्पन्न गर्ने वातावरण निर्माण गरिने उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले सेवाप्रवाहमा कुनै प्रकारको ढिलासुस्ती हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
“नागरिकले अनुभूति गर्ने गरी काम गर्नु नै हाम्रो पहिलो दायित्व हो,” उहाँले भन्नुभयो, “पालिकाको प्रशासनलाई थप व्यवस्थित, अनुशासित र परिणाममुखी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने दिशामा म इमान्दारपूर्वक लाग्नेछु ।”
स्वागत कार्यक्रममा सहभागी कर्मचारीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गर्दै गाउँपालिकाको समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रम सौहार्दपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
पदभार ग्रहणपछि गाउँपालिका अध्यक्ष चौलागाईले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई गाउँपालिकाका विभिन्न शाखा तथा कार्यालयहरूको अवलोकन गराउनुभएको थियो । अवलोकनका क्रममा शाखागत गतिविधि, सेवा प्रवाहको अवस्था, कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कार्यसम्पादनबारे जानकारी गराइएको थियो । गाउँपालिकाले नयाँ प्रशासनिक नेतृत्वसँगै सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस