पाँचखाल, काभ्रेपलाञ्चोक ।पाँचखाल नगरपालिकाले विषादीरहित, ताजा तथा गुणस्तरीय कृषि उपज उपभोक्तासम्म सहज रूपमा पुर्याउने उद्देश्यले “कृषि हाटबजार २०८३” सञ्चालन गर्ने भएको छ। हाटबजार मिति २०८३ जेठ ८ गतेदेखि प्रत्येक शुक्रबार र शनिबार नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।
नगरपालिका कृषि समितिको समन्वयमा पाँचखाल नगरपालिका वडा नं. ४, बागवानी गेट देखी बोहोरे दोभान चोक सम्म सञ्चालन हुने उक्त हाटबजार बिहान ७ :०० बजे देखि साँझ ६:०० बजेसम्म खुला रहनेछ। कार्यक्रम अन्तर्गत स्थानीय कृषकहरूले आईपीएम (Integrated Pest Management) तरिकाबाट उत्पादन गरेका विषादीरहित ताजा तरकारी, फलफूल तथा अन्य कृषि उपज सिधै उपभोक्तासम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको छ।
पाँचखाल क्षेत्रमा विगत लामो समयदेखि हरियाली विस्तार, कृषि तथा पशुपालन प्रवर्द्धनमा सक्रिय रहँदै आएको लव ग्रीन नेपाल (प्यारो हरियो नेपाल) को सहयोगमा कृषकहरूलाई आईपीएम प्रविधिमा आधारित खेतीतर्फ उन्मुख गराइएको हो। संस्थाले विगत एक दशकदेखि पाँचखालमा विषादीरहित कृषि उत्पादनको अभियानलाई निरन्तर अघि बढाउँदै आएको बताइएको छ।
संस्थाले सयौं संख्यामा कृषक पाठशाला सञ्चालन गरी करिब १,५०० भन्दा बढी कृषकलाई आईपीएम प्रविधिमा दक्ष बनाएको जनाइएको छ। पछिल्ला वर्षहरूमा विभिन्न निकायबाट गरिएको परीक्षणमा पाँचखालमा उत्पादन भएको तरकारीमा विषादीको अवशेष नभएको प्रमाणित समेत भइसकेको छ।
लव ग्रीन नेपालका कार्यकारी अधिकृत नारायण ज्ञवालीका अनुसार पाँचखालमा उत्पादन भएको विषादीरहित तरकारीको माग काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च रहेको छ। उपभोक्तासम्म गुणस्तरीय कृषि उत्पादन पुर्याउने उद्देश्यसहित हाटबजारलाई थप व्यवस्थित रूपमा विस्तार गर्न संस्थाले पनि सहकार्य गर्ने उनले बताए।
यस्तै, पाँचखाल नगरपालिका कृषि समिति संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष सुन्दर तामाङले किसान र उपभोक्ता दुवैलाई बिचौलियाको मारबाट जोगाउँदै सिधै बजार पहुँच सुनिश्चित गर्न हाटबजार सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै उपभोक्तालाई सुलभ मूल्यमा विषादीरहित ताजा तरकारी उपलब्ध गराउनु प्रमुख उद्देश्य हो।
यस हाटबजारले स्थानीय कृषकलाई बजार सुनिश्चितता प्रदान गर्नुका साथै उपभोक्तालाई स्वस्थ र सुरक्षित खाद्य उपभोगको अवसर दिलाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस