२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

पाँचखालमै गुणस्तरीय शिक्षाको भरोसा बन्दै गोल्डेन फ्युचर, एसईईमा फेरि कायम गर्‍यो नगरकै उत्कृष्ट नतिजा


८१३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ जेष्ठ ११, सोमबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । “गुणस्तरीय शिक्षा नै उज्ज्वल भविष्यको आधार हो” भन्ने उद्देश्यलाई आत्मसात गर्दै तीन दशकभन्दा लामो समयदेखि पाँचखाल तथा आसपासका क्षेत्रका विद्यार्थीलाई आधुनिक शिक्षा प्रदान गर्दै आएको गोल्डेन फ्युचर माध्यमिक विद्यालय ले एसईई २०८२ मा पुनः उत्कृष्ट सफलता हासिल गर्दै आफ्नो शैक्षिक गौरवलाई थप उचाइमा पुर्‍याएको छ ।

    ३४ वर्षअघि ग्रामीण क्षेत्रका विद्यार्थीले पनि आफ्नै ठाउँमा बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यसहित स्थापना गरिएको विद्यालयले यस वर्षको एसईई परीक्षामा उच्च जीपीएसहित शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । छात्रतर्फ पाँचखाल नगरपालिकाभरिकै उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले विगत वर्षहरूको सफलता यात्रालाई निरन्तरता दिएको छ ।

    विद्यालयबाट एसईई २०८२ मा सहभागी ५३ जना विद्यार्थीहरूमध्ये अधिकांशले उत्कृष्ट ग्रेड प्राप्त गरेका छन् । नगरकै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी इरोज बस्नेत सहित शतप्रतिशत सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीलाई विशेष सम्मान तथा बधाई प्रदान गरिएको थियो ।

    पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोईरालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष बद्री बहादुर महतको सभापतित्वमा सम्पन्न भएको थियो भने विद्यालयका प्रिन्सिपल विशाल घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख कोईरालले ग्रामीण क्षेत्रमै रहेर उत्कृष्ट नतिजा हासिल गर्नु सामान्य उपलब्धि नभएको उल्लेख गर्नुभयो । उहाँले गोल्डेन फ्युचरले पाँचखालको शैक्षिक विकासमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजाको अपेक्षा व्यक्त गर्नुभयो ।

    कार्यक्रमका विशेष अतिथि सञ्चारकर्मी इश्वरी राज कुमार मैनालीले विद्यालय स्थापना कालदेखि आजसम्म निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा विद्यालय परिवारप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले “आधुनिक र गुणस्तरीय शिक्षाका लागि अब राजधानी धाउनैपर्ने बाध्यता छैन भन्ने उदाहरण गोल्डेन फ्युचरले स्थापित गरेको छ,” भन्दै विद्यालयले पाँचखाल क्षेत्रकै शैक्षिक पहिचान निर्माण गरेको उल्लेख गर्नुभयो ।

    विद्यालयका अध्यक्ष बद्री बहादुर महतले विद्यार्थीको उज्ज्वल भविष्य निर्माण नै आफ्नो मूल उद्देश्य रहेको बताउनुभयो । काठमाडौंका विभिन्न अवसरलाई पछि पार्दै पाँचखालको शिक्षा क्षेत्रमा समर्पित भएको उल्लेख गर्दै उहाँले सुरक्षित र व्यवस्थित वातावरणमा विद्यार्थीलाई अध्ययन गराउने लक्ष्यसहित आधुनिक विद्यालय भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

    “म पाँचखालमा पैसा कमाउन आएको होइन, विद्यार्थीको भविष्य निर्माण गर्न आएको हुँ । विद्यार्थीको भविष्य उज्यालो बनाउन केही गुमाउन परे पनि तयार छु,” अध्यक्ष महतले भावुक हुँदै भन्नुभयो ।

    विद्यालयले शैक्षिक क्षेत्रमा मात्रै नभई अतिरिक्त क्रियाकलाप, खेलकुद तथा नेतृत्व विकासका गतिविधिमा समेत निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । आधुनिक प्रविधिमैत्री शिक्षण प्रणाली, दक्ष शिक्षक टोली, अनुशासित वातावरण तथा विद्यार्थीमैत्री पठनपाठनका कारण गोल्डेन फ्युचर अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्दै गएको विद्यालय प्रशासनको दाबी छ ।

    कक्षा ११ र १२ मा समेत व्यवस्थापन, कम्प्युटर, होटल म्यानेजमेन्ट लगायतका विषयमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले आगामी दिनमा अझ प्रभावकारी र प्रविधिमैत्री शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार