२०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

प्रमुख प्रशासकीय अधिकृत चढ्ने स्कर्पियो मध्यराति गायब, प्रहरी अनुसन्धान तीव्र


१२२३ पाठक संख्या
  • २०८३ जेष्ठ २१, बिहिबार मा प्रकाशित ७ घण्टा अघि
  • काठमाडौं, २१ जेठ — ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको सरकारी स्कर्पियो गाडी चोरी भएको घटनाले स्थानीय प्रशासन र सुरक्षा निकायलाई समेत झस्काएको छ। सार्वजनिक सेवामा प्रयोग हुने सरकारी सवारी नै चोरी भएपछि घटनाले थप चर्चा पाएको छ।

    प्रहरीका अनुसार गोदावरी नगरपालिका–ठेचो क्षेत्रमा पार्किङ गरेर राखिएको स्कर्पियो मध्यरातिको समयमा चोरी भएको हो। गाडी हराएको जानकारी प्राप्त भएपछि सम्बन्धित पक्षले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका छन्।

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले चोरी भएको स्कर्पियोको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार सीसीटीभी फुटेज, मोबाइल ट्र्याकिङ तथा अन्य प्राविधिक माध्यमको प्रयोग गरी अनुसन्धान भइरहेको छ।

    ‘विभिन्न प्राविधिक पक्षको विश्लेषण गर्दै गाडीको खोजी गरिरहेका छौं। हालसम्म स्कर्पियो फेला परेको छैन,’ एसपी मिश्रले बताएका छन्।

    प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गर्दा एक व्यक्तिले स्कर्पियो चलाएर लैजाँदै गरेको दृश्य देखिएको जनाएको छ। उक्त व्यक्तिको पहिचान तथा सम्भावित संलग्नताको विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

    घटनापछि स्कर्पियोका चालकसँग पनि प्रहरीले सोधपुछ गरेको छ। चालकले भने राति गाडी पार्किङमा राखेर सुतेको र बिहान उठ्दा गाडी नभेटिएको जानकारी दिएका छन्। उनले चोरीको घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

    सरकारी निकायका उच्च अधिकारीले प्रयोग गर्ने सवारी नै चोरी हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। विशेषगरी सरकारी सवारी साधनको निगरानी, पार्किङ सुरक्षा तथा चोरी नियन्त्रणका उपायबारे पुनः समीक्षा आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।

    प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरी स्कर्पियोसहित पक्राउ गर्न विशेष टोली परिचालन गरेको जनाएको छ। घटनाको अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार