२०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

गोल्डेन फ्यूचर स्कुलको हरित पहल: वातावरण संरक्षणमा ‘लभ ग्रीन नेपाल’लाई सम्मान


१५०९ पाठक संख्या
  • २०८३ जेष्ठ २२, शुक्रबार मा प्रकाशित ३ घण्टा अघि
  • पाँचखाल, काभ्रेपलाञ्चोक — ५३औँ विश्व वातावरण दिवसको अवसरमा गोल्डेन फ्यूचर माध्यमिक विद्यालय Golden Future Secondary School ले वातावरण संरक्षणलाई केन्द्रमा राख्दै पाँचखाल नगरपालिका–४ स्थित समाज कल्याण (तामाघाट) चोकमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

    ३४ वर्षअघि पाँचखाल र आसपासका क्षेत्रमा गुणस्तरीय आधुनिक शिक्षाको आवश्यकता महसुस गर्दै स्थापना भएको उक्त विद्यालयले शैक्षिक उत्कृष्टतासँगै व्यवहारिक तथा नैतिक शिक्षालाई समेत प्राथमिकता दिँदै सामाजिक उत्तरदायित्वका गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ। सोही अभियान अन्तर्गत वातावरण संरक्षणलाई विद्यालयले प्रमुख एजेन्डाका रूपमा अघि सारेको हो।

    वातावरण संरक्षणमा विद्यार्थीको सक्रिय सहभागिता

    विद्यालयका ईसीए संयोजक भोलानाथ सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सभाध्यक्षता विद्यालयका प्रिन्सिपल विशाल घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पाँचखाल नगरपालिका–४ का वडा अध्यक्ष सुन्दर तामाङ रहनुभएको थियो।

    विशेष अतिथिका रूपमा उदय कोइराला, सञ्चारकर्मी ईश्वरराज मैनाली तथा अन्य सरोकारवालाहरूले वातावरण संरक्षणको आवश्यकता र दिगोपनाबारे आ–आफ्ना धारणा राखेका थिए।

    ‘लभ ग्रीन नेपाल’ लाई सम्मान

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएको संस्था Love Green Nepal लाई विद्यालयले “Environment Conservation Award–2026” द्वारा सम्मान गरेको छ। उक्त सम्मान प्रमुख अतिथि वडा अध्यक्ष सुन्दर तामाङ र प्राचार्य विशाल घिमिरेले संयुक्त रूपमा संस्थाका प्रतिनिधिलाई प्रदान गरेका थिए।

    वक्ताहरूका धारणा

    कार्यक्रममा वक्ताहरूले वातावरणीय समस्या—जस्तै प्लास्टिकजन्य फोहोर, वन विनाश, सवारी साधनको धुवाँ र जलवायु परिवर्तन—ले मानव जीवनमा पारिरहेको असरबारे गम्भीर छलफल गरेका थिए। शिक्षा शाखा प्रमुख उदय कोइरालाले पृथ्वी सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै घर–घरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्नेमा जोड दिएका थिए।

    वडा अध्यक्ष सुन्दर तामाङले विद्यालयले पहिलो पटक सडक चोकमै पुगेर गरेको जनचेतनामूलक कार्यक्रमलाई प्रशंसनीय भन्दै वृक्षारोपण मात्र होइन, बिरुवाको संरक्षण र निरन्तर हेरचाह आवश्यक रहेको बताए।

    वातावरण संरक्षणलाई व्यवहारिक रूपमा अघि बढाउने उद्देश्यसहित सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूमा चेतना वृद्धि गर्दै समुदायस्तरमै हरित अभियानलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार