२०८३ श्रावण २, शनिबार | Sat, 18, Jul, 2026

नेपाली क्रीस्चियन समुदायको स्पष्ट सन्देश: हामी आस्था र राष्ट्रप्रति प्रतिबद्ध छौं


१०४२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ बैशाख ४, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक। नेपाली क्रीस्चियन समुदायले आफूलाई धर्म परिवर्तन गरिएका व्यक्तिहरूको समूहभन्दा पनि आस्था र जीवन मूल्यमा परिवर्तन ल्याएका नागरिकका रूपमा व्याख्या गरेको छ। समुदायका अनुसार क्रीस्चियन हुनु धर्म वा परम्पराको विरोध गर्नु नभई त्यसलाई परिमार्जन गर्दै वैज्ञानिक अध्यात्मवादतर्फ उन्मुख हुनु हो।

    समुदायका प्रतिनिधिहरूले क्रीस्चियनहरू कसैका शत्रु वा विरोधी नभई शान्ति, प्रेम र सेवामा विश्वास गर्ने सामाजिक समूह भएको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार क्रीस्चियन समुदायले दैनिक रूपमा राष्ट्रको शान्ति, समृद्धि र स्थायित्वका लागि प्रार्थना गर्दै आएको छ।

    राष्ट्रियता सर्वोपरि

    क्रीस्चियन समुदायले आफ्नो पहिलो पहिचान नेपाली नै भएको उल्लेख गर्दै राष्ट्रप्रति पूर्ण निष्ठा रहेको जनाएको छ। “हामी क्रीस्चियन हुनुभन्दा अघि नेपाली हौं,” भन्ने धारणा व्यक्त गर्दै उनीहरूले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र शान्तिपूर्ण अस्तित्वका लागि प्रतिबद्ध रहेको बताएका छन्।

    राज्यका नियम, कानुन र अनुशासनको पालना गर्नु धार्मिक कर्तव्यकै रूपमा लिने गरिएको उल्लेख गर्दै उनीहरूले असंलग्न परराष्ट्र नीतिअनुसार नेपाललाई शान्तिप्रिय र स्वाभिमानी राष्ट्रका रूपमा विश्वमा स्थापित गर्ने चाहना व्यक्त गरेका छन्।

    ‘आयातित धर्म’ भन्ने भ्रमप्रति आपत्ति

    क्रीस्चियन विश्वासलाई विदेशी वा आयातित धर्मका रूपमा लिने धारणा गलत रहेको समुदायले जनाएको छ। यो कुनै बाध्यकारी पन्थ, अन्धविश्वास वा संस्कार होइन, बरु व्यक्तिगत आस्था र स्वेच्छामा आधारित विश्वास प्रणाली भएको उनीहरूको भनाइ छ।

    समुदायका अनुसार क्रीस्चियन विश्वासको केन्द्रमा रहेका येशु ख्रीष्टको जीवन र शिक्षालाई नैतिक मार्गदर्शनका रूपमा लिइन्छ। करिब दुई हजार वर्षअघि जन्मिएका येशुको शिक्षामा आधारित बाइबललाई मार्गदर्शक ग्रन्थका रूपमा मानिए पनि त्यसमा विश्वास गर्ने वा नगर्ने स्वतन्त्रता प्रत्येक व्यक्तिमा रहने उल्लेख गरिएको छ।

    सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता

    क्रीस्चियन समुदायले आफूहरू समाजका अन्य नागरिकसरह जिम्मेवार सामाजिक सदस्य भएको उल्लेख गर्दै समाजमा शान्ति, सहकार्य र सद्भाव कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ। सेवा, सहयोग र प्रेममार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको समुदायको भनाइ छ।

    समुदायले क्रीस्चियन नाममा हुने कुनै पनि नकारात्मक गतिविधिलाई समर्थन नगर्ने स्पष्ट पार्दै त्यस्ता विकृतिहरूविरुद्ध सचेतना फैलाउने प्रतिबद्धता जनाएको छ।

    भ्रम चिर्ने प्रयास

    नेपाली समाजमा क्रीस्चियन समुदायप्रति विभिन्न भ्रम र पूर्वाग्रह रहेको उल्लेख गर्दै समुदायले धर्म विरोधी, परम्परा विरोधी वा देशद्रोहीजस्ता आरोपहरू निराधार रहेको दाबी गरेको छ।

    “हामी देश, सरकार र समाजको हितका लागि सधैं सकारात्मक सोचका साथ अघि बढेका छौं,” समुदायले जनाएको छ। समुदायले पारस्परिक सम्मान, सहअस्तित्व र संवादमार्फत गलत बुझाइ हटाउँदै राष्ट्रिय एकता, सुशासन र विकासमा सहकार्य गर्न सबैलाई आग्रह गरेको छ। 

    राम कुमार न्यौपाने

    सम्पर्क: ९८४९२६१३२३
    अध्यक्ष, पाँचखाल क्रीस्चियन समुदाय
    कोषाध्यक्ष, काभ्रे जिल्ला क्रीस्चियन समुदाय

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार