२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड


९७५१ पाठक संख्या
  • २०८२ जेष्ठ ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । हनी ट्रयापमा पारेर पैसा असुलेको आरोपमा नेपाल प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।

    उनीहरूमाथि हनी ट्रयाप गरेर ५ लाख रुपैयाँ असुलेको आरोप छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार दुई जनाले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क बढाएका थिए ।

    त्यसपछि पीडितलाई ठमेलस्थित होटलमा बोलाएर खाजा र मादक पदार्थ सेवन गर्न लगाएका थिए । पीडित अचेत अवस्थामा पुगेपछि उनको अश्लील फोटो र भिडियो बनाइएका थिए ।

    प्रहरी उपरीक्षक आचार्यका अनुसार तामाङ र चौगुठीले ती भिडियो र फोटोको स्क्रिनसट मेसेन्जरमा पठाएर पीडितलाई ‘काठमाडौँमा घर र ४ आना जग्गा दिनुपर्छ नत्र यौनशोषणको मुद्दा लगाइदिन्छु’ भन्दै धम्की दिएका थिए । उनीहरूले पीडितलाई तत्काल ५ लाख रुपैयाँको चेक काट्न बाध्य समेत पारेका थिए ।

    प्रहरीले उनीहरूलाई बुधबार काठमाडौँ महानगरपालिका–११ हनुमानस्थानबाट पक्राउ गर्न सफल भएको थियो । उनीहरूको साथबाट मोबाइल २ थान र प्राइम कमर्सियल बैंकको आँचल चौगुठीको नाममा काटेको ५ लाखको चेक एक थान समेत बरामद गरिएको छ ।

    प्रहरी उपरीक्षक आचार्यले उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार