काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा रहेको पाँच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरिएको छ ।
कार्यक्रम युवा नेता एवं समाजसेवी दैबलाल घिसिङ (अनुशिल) को प्रमुख आतिथ्यतामा र खानीखोला –३ न.वडा अध्यक्ष सागर जिम्बाको विशेष उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो ।
न्यानो कपडा तथा झोला वितरण कार्यक्रममा विद्यार्थीहरूलाई ट्रयाकसुट‚ जुत्ता‚ मोजा‚ टोपी तथा झोला प्रदान गरिएको थियो । उक्त न्यानो कपडा सहयोग सामाजिक संस्था केटाकेटी नेपालको तफर्बाट उपलब्ध भएको थियो । ग्रामीण भेकका विद्यार्थीहरूलाई सहयोगार्थ पाँचखाल –१ निवासी युवा समाजसेवी एवं व्यवसायी सूर्य बहादुर तामाङले झोला उपलब्ध गर्नु भएको थियो ।
सहयोगका लागि संस्थाका अध्यक्ष भीम गोले‚ र सूर्यबहादुर तामाङलाई आयोजकले विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्नको लागि अविरल जिम्बा‚ दैवलाल घिसिङ र खानीखोला – ३ न. वडा अध्यक्ष सागर जिम्बाले पहल र सहजीकरण गर्नुभएको थियो । न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयमा पुगेर सहयोग गर्ने सृजना थिङ‚ बिरेन्द्र ब्लोन‚ युवराज थापा मगर‚ गणेश जिम्बा‚ तिलक मोक्तान‚ पदम घिसिङ‚ बुद्धराज गोले‚ मिसन जिम्बा तथा सुमित जिम्बालाई विद्यालयले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमले चिसो मौसममा विद्यार्थीहरूको पठनपाठन सहज बनाउन महत्वपूर्ण सहयोग पुगेको सहभागीहरूको तर्क रहेको छ ।
त्यसैगरी खानीखोला सार्कीडाँडा स्थित श्री सतीदेवी प्राथमिक विद्यालयमा संविधानसभा सदस्य अकल बहादुर थिङ (महेश) को प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको थियोे । खानीखोला–३ का वडा अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो । साथै समाजसेवी सृजना थिङ‚ बल बहादुर थिङ‚ युवराज थापा‚ राजकुमार भोलन‚ खानीखोला–२ का वडा सदस्य सुरज घिसिङ‚ पूर्व वडा सदस्य लालमान घिसिङ‚ कलाकार एवं समाजसेवी गणेश जिम्बा‚ समाजसेवी पदम घिसिङ र रिजा घिसिङलगायतको सहभागिता रहेको थियो ।
विद्यार्थीहरूलाई स्थानीय भीम घिसिङद्वारा उपलब्ध गराइएको ट्रयाकसुट तथा पाँचखाल निवासी युवा समाजसेवी एवं व्यवसायी सूर्य बहादुर तामाङको सहयोगमा न्यानो कपडा वितरण गरिएको थियो । यसैगरी खानीखोला–३ वडा अन्तर्गत चित्रे स्थित श्री केन्द्र ज्योति आधारभूत विद्यालय र जुरे स्थित श्री हनुमान शक्ति प्राथमिक विद्यालयमा पनि सामाजिक संस्था केटाकेटी नेपालको सहयोगमा ट्रयाकसुट‚ टोपी‚ जुत्ता तथा मोजा वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य अकल बहादुर थिङ (महेश)‚ देवलाल घिसिङ (अनुशील)‚ वडा अध्यक्ष सागर जिम्बा‚ सृजना थिङ र युवराज थापाले मन्तव्य राख्दै विद्यार्थीहरूको पठनपाठनमा यस्ता सहयोग कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो । विद्यालय परिवारले सहयोगी संस्था तथा न्यानो कपडा उपलब्ध गराउन योगदान पुर्याउने सम्पूर्ण नेतृत्व र समाजसेवीहरूलाई स्वागत–सम्मान गर्दै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । चिसो मौसममा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई राहत पुग्नुका साथै अध्ययनप्रति उत्साह बढाएको स्थानीयवासीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस