४ पुस, काठमाडौं ।रकारले समस्याग्रस्त सहकारी संस्थामा बचत गरेका साना बचतकर्तालाई राहत दिने उद्देश्यले चक्रीय कोषमार्फत बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ । यसअन्तर्गत १ लाख रुपैयाँसम्म बचत गरेका करिब ३८ हजार सहकारी पीडित बचतकर्ताले आफ्नो जम्मा रकम पूर्ण रूपमा फिर्ता पाउने भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साना बचतकर्ताको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने प्रस्ताव तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ । मन्त्रालयले चक्रीय कोषमा प्रारम्भिक रूपमा सरकारले २ अर्ब रुपैयाँ राख्ने र त्यसलाई कार्यविधिमार्फत परिचालन गरी साना बचतकर्तालाई भुक्तानी गर्ने योजना बनाएको हो । अर्थ मन्त्रालयमा अध्ययन तथा छलफलपछि मन्त्रिपरिषद्बाट स्वीकृति पाएसँगै बचत फिर्ता प्रक्रिया सुरु हुने बताइएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तयार पारेको तथ्यांकअनुसार समस्याग्रस्त सहकारी संस्थामा १ लाख रुपैयाँभन्दा कम बचत गरेका बचतकर्ताको संख्या ३७ हजार ८ सय ६ जना रहेको छ । ती बचतकर्ताले सहकारीमा जम्मा गरेको १ लाख रुपैयाँसम्मको रकम फिर्ता पाउनेछन् । सोही आधारमा मन्त्रालयले कार्यविधि तयार गरी चक्रीय कोषमा राखिने रकम यकिन गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
समितिको कार्यालयका अनुसार समस्याग्रस्त घोषित २० सहकारी संस्थामा १ लाख रुपैयाँभन्दा कम बचत गर्ने ३७ हजार ८ सय ६ बचतकर्तालाई कुल १ अर्ब ८६ करोड ८४ लाख ९६ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । तीमध्ये पाँच सहकारी संस्थामा भने १ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ता नै नरहेको समितिको कार्यालयले जनाएको छ ।
१ लाखसम्म बचत गर्ने बचतकर्ता नरहेका सहकारी संस्थामा प्रभु बचत तथा ऋण सहकारी संस्था, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र भेगास बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
सरकारले हाल १ लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाए पनि आन्दोलनरत सहकारी पीडितहरूले यसमा पूर्ण सहमति जनाइसकेका छैनन् । सहकारी पीडित बचतकर्ता महासंघले भने सबै बचतकर्तालाई समान रूपमा १ लाख रुपैयाँसम्मको रकम फिर्ता दिनुपर्ने माग गर्दै निरन्तर दबाब दिँदै आएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सबैभन्दा धेरै साना बचतकर्ता शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रहेका छन् । उक्त सहकारीमा मात्रै १ लाख रुपैयाँसम्म बचत गरेका बचतकर्ताको संख्या २० हजार ४ सय ८३ रहेको छ । ती बचतकर्ताको कुल बचत रकम ६९ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको समितिको कार्यालयले जनाएको छ ।
सरकारले सहकारीका कारण आर्थिक संकटमा परेका साना बचतकर्तालाई तत्काल राहत दिने उद्देश्यले चक्रीय कोषको अवधारणा अघि सारेको भए पनि कार्यविधि स्वीकृति, रकम वितरणको प्रक्रिया र आन्दोलनरत पक्षको सहमतिका विषयमा अझै चुनौती बाँकी रहेको देखिन्छ ।


















प्रतिक्रिया दिनुहोस