काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षका नेताहरूको शनिबार काठमाडौँमा बसेको भेलाले महाधिवेशनका क्रममा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर रूपमा अगाडि बढाउने निर्णय गरेको छ।
भेलाले पार्टीको विधि र विधानभित्र रहेर पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माण तथा आन्तरिक लोकतान्त्रीकरणका विषयलाई प्राथमिकताका साथ उठाइरहने निष्कर्ष निकालेको छ।
भेलापछि उपमहासचिव योगेश भट्टराईले जानकारी दिँदै आफ्ना विचार र एजेन्डाहरूलाई पार्टीका विभिन्न तहमा छलफलका लागि लैजाने तयारी गरिएको बताए। महाधिवेशनको मत परिणामबाट विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दै भेलाले पार्टीको एकता र सुदृढीकरणका लागि रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यद्यपि, महाधिवेशनका क्रममा प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका गतिविधिले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको भन्दै भेलाले चिन्ता व्यक्त गरेको छ। पार्टी संरचनाको दुरुपयोग भएको र लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति आपत्ति जनाउँदै आगामी दिनमा यस्ता प्रवृत्तिविरुद्ध सचेत रहने निर्णय गरिएको भट्टराईले बताए।
भेलाले पार्टीभित्र हुन सक्ने गुटबन्दी तथा नेता–कार्यकर्तालाई काखापाखा गर्ने कुनै पनि प्रयास वा प्रस्ताव आएमा त्यसको कडा प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ। पार्टीभित्र कुनै पनि किसिमको अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पार्दै भेलाले वैचारिक र पद्धतिगत सङ्घर्षलाई नै प्राथमिकता दिने निष्कर्ष निकालेको छ।
महाधिवेशनपछिको यस भेलालाई एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र वैचारिक बहसको निरन्तरताका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस