उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ मा गएराति दाजुले धारिलो हतियार प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्। स्थानीय ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराज राईमाथि धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको हो।
घटनामा गम्भीर घाइते भएका धर्मराज राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। अस्पताल स्रोतका अनुसार उपचारका क्रममा राति करिब २ बजे उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद नै घटनाको कारण बनेको देखिएको छ। आमालाई कुटपिट गरेको विषयलाई लिएर दाजु–भाइबीच वादविवाद भएको र सोही क्रममा युवराज राईले भाइमाथि धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि अभियुक्त युवराज राई फरार रहेका छन्। उनको खोजीका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। पोस्टमार्टम रिपोर्टपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।
स्थानीयवासीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै पारिवारिक विवादले यति ठूलो दुर्घटना निम्त्याउनु दुखद भएको प्रतिक्रिया दिएका छन्। घटनाले त्रियुगा नगरपालिका क्षेत्र शोकमग्न बनेको छ।

प्रतिक्रिया दिनुहोस