
आई.आर.के.मैनाली१५ पुस, बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । दाउन्ने खण्डको उकालो तथा ओरालो भागमा शीतलहरले बाटो भिजेपछि गाडी चिप्लिएर गुड्न नसक्दा करिब १५ घण्टादेखि सवारी सञ्चालन हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेले दाउन्ने खण्डमा अत्यधिक चिप्लोपनका कारण सवारी साधन रोकिएको जानकारी दिए । उनका अनुसार सडकमा गाडी चढ्न नसक्दा बर्दघाट र दुम्किबासतर्फ दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्ने क्षेत्रमा जाममा फसेको बताए । “न त गाडी अगाडि बढ्न सकेको छ, न त वैकल्पिक बाटोको व्यवस्था छ,” उनले गुनासो गरे ।
निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत अन्य क्षेत्रहरूमा सवारी आवागमन सहज भए पनि दाउन्ने खण्डमा अझै निर्माण कार्य बाँकी रहेको छ । यही कारण मौसम प्रतिकूल हुँदा सानो समस्या आए पनि लामो समयसम्म सडक अवरुद्ध हुने अवस्था सिर्जना हुने गरेको स्थानीयवासीको भनाइ छ ।
प्रहरीका अनुसार शीतलहर कम भई सडक सुक्खा भएपछि मात्र सवारी साधन सञ्चालन गर्न सकिनेछ । हाल प्रहरी र सडक विभागले अवस्था सामान्य हुने प्रतीक्षामा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस