१५ पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुक गम्भीर संकटमा फसेको उल्लेख गर्दै त्यसको निकास कांग्रेस र एमालेबीचको सहकार्यबाट मात्रै सम्भव हुने बताएका छन् । उनले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडफाँट गर्दै सहकार्यका साथ अघि बढ्न सक्ने धारणा व्यक्त गरे ।
मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेस र एमालेबीच तत्काल मोर्चाबन्दी आवश्यक रहेको बताए । लोकतन्त्र जोगाउन र प्रतिगमनकारी शक्तिलाई परास्त गर्न दुई ठूला दल एकजुट हुन ढिलाइ गर्न नहुने उनको तर्क थियो ।
उनले कांग्रेस र एमाले दुवै लोकतन्त्रवादी शक्ति भएको उल्लेख गर्दै संयुक्त आन्दोलनमार्फत लोकतन्त्र पुनःस्थापना सम्भव रहेको बताए । “कांग्रेस र एमालेको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रलाई पुनःस्थापना गर्न सक्छौँ,” उनले भने, “हाम्रो सहकार्य र मोर्चाबन्दीले मात्रै देशको राष्ट्रिय स्वाधीनता र अस्तित्वलाई सुरक्षित राख्न सक्छ।”
उपाध्यक्ष थापाले अविलम्ब दुवै दलले अबको लोकतन्त्र पुनःस्थापनाका लागि स्पष्ट रणनीति र कार्यनीति सुविचारित ढंगले तय गर्नुपर्नेमा जोड दिए । उनका अनुसार संसद पुनःस्थापना गरेर वा निर्वाचनमार्फत अघि बढेर प्रतिगमनकारी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही दिशामा लैजान सकिन्छ ।
उनले नयाँ संसद गठन गरेर होस् वा विघटित संसद पुनःस्थापना गरेर होस्, दुवै बाटोबाट लोकतन्त्रलाई पुनर्जीवित गर्न सकिने बताए । “नयाँ संसदमा वामपन्थी लोकतन्त्रवादी शक्तिहरूको वर्चस्व स्थापित गरेर फेरि लोकतन्त्र मजबुत बनाउन सकिन्छ,” उनले भने ।
उपाध्यक्ष थापाले अदालत वा सडक आन्दोलन दुवै माध्यमबाट विघटित संसद पुनःस्थापना हुन सक्ने उल्लेख गर्दै फागुन २१ सम्म निर्णायक समय रहेको बताए । उनले सो दिनका लागि तय गरिएको निर्वाचन नहुन पनि सक्ने संकेत गर्दै शासक पक्षले आफूअनुकूल नदेखे निर्वाचन स्थगन गर्न सक्ने आशंका व्यक्त गरे ।
“यदि निर्वाचन नहुने अवस्था आयो भने पनि त्यसलाई आधार मानेर लोकतन्त्रवादी शक्तिहरू एकजुट भएर प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ,” उनले भने । त्यसका लागि कांग्रेस र एमालेले संयुक्त मोर्चा बनाएर लडाइँ लड्न आवश्यक रहेको उनको भनाइ थियो ।
थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसपछि देश गम्भीर संकटतर्फ धकेलिएको जिकिर गरे । उनले उक्त संकटको समाधान कांग्रेस र एमालेबीचको सहकार्यबाट मात्रै सम्भव हुने निष्कर्ष निकाले ।

प्रतिक्रिया दिनुहोस