धुलिखेल । तथ्याङ्क दिवस २०८२ को अवसरमा धुलिखेलमा जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। तथ्याङ्क समन्वय अधिकारी दिपक कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले तथ्याङ्क राज्य सञ्चालनको मेरुदण्ड भएको उल्लेख गर्नुभयो। उहाँले आधिकारिक, विश्वसनीय र समयसापेक्ष तथ्याङ्कले पारदर्शी शासन, सुशासन तथा जवाफदेही प्रशासन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। तथ्याङ्कको सही प्रयोग र प्रभावकारी संप्रेषणमा सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले पत्रकार र तथ्याङ्क समन्वय कार्यालयबीचको सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्षद्वय बद्रीराज तिमल्सिना र मोतीराम तिमल्सिनाले पनि आफ्ना धारणा राख्नुभयो। उहाँहरूले तथ्याङ्कको जिम्मेवार प्रयोग र सार्वजनिक सरोकारका विषयमा त्यसको सही व्याख्या आवश्यक रहेको बताए।
अन्तरक्रियाका क्रममा सहभागी सञ्चारकर्मीहरूले तथ्याङ्क उत्पादन, व्यवस्थापन तथा प्रयोगका क्रममा सरोकारवालाबीच समन्वय बढाउनुपर्ने सुझाव दिएका थिए। साथै कार्यक्रममा कार्यालयका कर्मचारीहरूको योगदानको कदर गर्दै सुपरिवेक्षक सन्तोष कार्की र कार्यालय सहयोगी खड्गबहादुर भुजेललाई सम्मान गरिएको थियो।
“आधिकारिक तथ्याङ्क, पारदर्शी शासन” भन्ने नारासहित मनाइएको तथ्याङ्क दिवसको उक्त कार्यक्रम तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा तथ्याङ्कको विश्वसनीयता अभिवृद्धि गर्दै यसको उपयोगलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस