२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

“पुराना दल नडराउनू, देश अब नयाँ पुस्ताले सम्हाल्छ” — रवि लामिछाने


४९९३ पाठक संख्या
  • २०८२ पौष २१, सोमबार मा प्रकाशित ६ महिना अघि
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरूलाई अब अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन्। उनले मुलुकलाई संकटमा पुर्‍याएको आरोप पुराना दलहरूमाथि लगाउँदै अबको जिम्मेवारी नयाँ पुस्ताले सम्हाल्ने स्पष्ट सन्देश दिएका छन्।

    सोमबार काठमाडौंमा आयोजित वृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना नेताहरूले नयाँ पुस्ताप्रति अविश्वास व्यक्त गर्ने गरेको उल्लेख गरे। उनले भने, “तपाईंहरूको हातबाट जाँदा देश संकटमा पर्छ कि भन्ने चिन्ता नगर्नुहोस्, हामी सम्हाल्छौँ। देश जोगाउने तागत हामीसँग छ।”

    उनले संसदलाई केवल बजेट भाषणमा सीमित बनाइएका कारण जनतामा निराशा बढेको आरोप लगाउँदै रास्वपाले संसदलाई नागरिक र युवाको चासोको केन्द्र बनाएको दाबी गरे। “संसद भनेको जनताको आवाज उठ्ने थलो हो भन्ने अनुभूति रास्वपाले छोटो समयमै गराएको छ,” उनले भने।

    सभापति लामिछानेले वर्तमान राजनीतिक अभ्यासले देशलाई निराशातर्फ धकेलेको टिप्पणी गर्दै सम्भावनै सम्भावना भएको मुलुकलाई पुराना दलहरूले सम्भावनाहीन बनाएको आरोप लगाए। “जुन राजनीतिले देशलाई हैतराम बनायो, युवालाई विदेशिन बाध्य बनायो, त्यो कस्तो राजनीति हो?” भन्दै उनले प्रश्न गरे।

    उनका अनुसार अबको पुस्ताले बिग्रिएको अर्थतन्त्र सुधार गर्ने, कमजोर बनेको वैदेशिक सम्बन्धलाई सुदृढ बनाउने र खस्किएको राष्ट्रिय मनोबल पुनः उकास्ने क्षमता राख्छ। उनले रास्वपा राजनीतिक रूपमा परिपक्व हुँदै गएको र सक्षम, इमानदार तथा प्रतिबद्ध पुस्तासँग मिलेर मुलुकलाई सही गन्तव्यतर्फ लैजाने यात्रामा रहेको बताए।

    सम्बोधनका क्रममा लामिछानेले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकटको एकमात्र समाधान निर्वाचन भएको धारणा व्यक्त गरे। उनले निर्वाचनको वातावरण खल्बल्याउने कुनै पनि गतिविधि नगर्न सबै राजनीतिक शक्तिहरूलाई आग्रह गर्दै अब हुने निर्वाचनले देशको भविष्य बदल्ने दाबी गरे।

    उनले रास्वपाले संसदका हरेक अधिवेशनलाई नागरिक र युवाहरूले चासोपूर्वक हेर्ने वातावरण निर्माण गरेको उल्लेख गर्दै पार्टीले छोटो समयमै जनताको भरोसा जित्न सफल भएको बताए। “अबको राजनीति सत्ता टिकाउने होइन, देश बनाउने राजनीति हुनुपर्छ,” लामिछानेको भनाइ थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु