२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

वनभित्र लुकाइएका १० भरुवा बन्दुक फेला


४८११ पाठक संख्या
  • २०८२ पौष २९, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • काठमाडौँ । सल्यान र बागलुङ जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक बरामद गरेको छ । सोमबार छुट्टाछुट्टै समयमा खटिएका प्रहरी टोलीहरूले वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ती हतियार फेला पारेका हुन् ।

    सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–५ स्थित शान्ति सुरक्षा सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वन क्षेत्रमा नियमित गस्ती गरिरहेको प्रहरीको विशेष टोलीले शंकास्पद स्थानमा लुकाइराखिएका हतियार फेला पारेको हो । बरामद बन्दुक कसले, कहिले र कुन उद्देश्यले त्यहाँ राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

    यस्तै, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ रानीकोट स्थित रानीकोट सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान वन गस्ती गर्ने क्रममा ती हतियार भेटाएको हो ।

    प्रहरीका अनुसार दुवै जिल्लामा फेला परेका भरुवा बन्दुक अवैध रूपमा राखिएको हुनसक्ने आशंका गरिएको छ । सम्भावित रूपमा अवैध शिकार, आपराधिक गतिविधि वा अन्य गैरकानुनी प्रयोजनसँग यसको सम्बन्ध हुन सक्ने भन्दै प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाएको छ । हतियार राख्ने व्यक्ति वा समूहको पहिचान तथा संलग्नता पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    सुरक्षा निकायले सामुदायिक वन क्षेत्रमा निगरानी थप कडा बनाइएको र स्थानीय बासिन्दालाई कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु