काभ्रेपलाञ्चोक।काभ्रेपलाञ्चोक जिल्लामा बालबालिकालाई नियमित स्तनपान गराउने दर पछिल्ला वर्षहरूमा घट्दो क्रममा रहेको पाइएको छ। यस अवस्थाप्रति सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गर्दै व्यापक जनचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन्।
बुधबार बाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा तथा पाँचखाल नगरपालिकाको समन्वयमा सरोकारवालाबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पाँचखाल र मण्डनदेउपुर नगरपालिकाभित्रका औषधि व्यवसायी, निजी स्वास्थ्य संस्था तथा डिपार्टमेन्ट स्टोर सञ्चालकहरूको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री–वितरण नियन्त्रण) ऐन, २०४९ सम्बन्धी अभिमुखीकरणसमेत गरिएको थियो। कार्यक्रममा ३० भन्दा बढी औषधि व्यवसायी, निजी स्वास्थ्य संस्था र व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरू सहभागी थिए। जनस्वास्थ्य कार्यालयकी गायत्री शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सहभागीहरूले उठाएका जिज्ञासामा जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले स्पष्ट जवाफ दिनुभएको थियो।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार स्वास्थ्य संस्थामै सुत्केरी गराउने महिलाको संख्या करिब ८० प्रतिशत पुगेको भए पनि जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई आमाको दूध खुवाउने दर भने ५५ प्रतिशत मात्र रहेको छ। यसले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको सरोकारवालाहरूले बताएका छन्।
यस्तै, ६ महिनासम्म मात्र स्तनपान गराउने दर ६५ प्रतिशत र २ वर्षसम्म स्तनपान गराउने दर ९४ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको थियो। जन्मिएको पहिलो घण्टामै आमाको दूध खुवाउनु शिशुका लागि ‘अमृत’ सरह भए पनि यसतर्फको प्रगति सन्तोषजनक नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यक्रममा आमाहरू घरेलु तथा कार्यालयजन्य काममा अत्यधिक व्यस्त हुनु, केही आमाहरूले सौन्दर्यमा असर पर्छ भन्ने भ्रमका कारण स्तनपान नगर्नुजस्ता कारणहरू नियमित स्तनपानमा अवरोध बनेको जानकारी दिइयो। यसले आमा र शिशु दुवैको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्ने जनाइएको छ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार स्तनपानको महत्व, फाइदा र आवश्यकताबारे विशेषगरी आमाहरूलाई लक्षित गरी जनचेतना कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य छ। उहाँका अनुसार विश्वभर आमाको दूधको विकल्प खरिदमा वार्षिक करिब ७२ खर्ब रुपैयाँ खर्च हुने गरे पनि ती वस्तुहरूमा आमाको दूधमा पाइने पोषक तत्व उपलब्ध हुँदैनन्।
कार्यक्रममा सहभागीहरूले कानुन अनुसार हरेक संघ–संस्थामा स्तनपान कक्ष स्थापना हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा आमाहरूलाई समस्या भइरहेको बताए। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सुत्केरी आमालाई ९८ दिनसम्म तलबी बिदा दिनुपर्ने व्यवस्था भए पनि धेरै निजी तथा केही सरकारी संस्थाले समेत यसलाई कार्यान्वयन नगरेको गुनासो उठाइएको थियो।
यसैगरी, आमाको दूधको विकल्प बिक्री गर्दा चिकित्सकको सल्लाहअनुसार मात्र आवश्यक अवस्थामा बिक्री गर्न व्यवसायीहरूलाई सुझाव दिइएको थियो। ऐनविपरीत कार्य गरेमा हुने दण्ड–जरिवानाबारे पनि कार्यक्रममा जानकारी दिइयो।कार्यक्रम पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाँचखाल स्वास्थ्य शाखा प्रमुख कोपिला कार्की , स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस