नयाँ दिल्ली । मध्यपूर्व एसियामा चर्किँदै गएको तनावबीच भारतसँग अब करिब २५ दिनका लागि मात्र कच्चा तेल र प्रशोधित पेट्रोलियम पदार्थको मौज्दात बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचार एजेन्सी ANI ले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भारतको ऊर्जा सुरक्षाबारे यस्तो जानकारी सार्वजनिक गरेको हो ।
स्रोतका अनुसार हालको भण्डारण व्यवस्थापनले छोटो अवधिका लागि आपूर्ति धान्न सक्ने भए पनि क्षेत्रीय द्वन्द्व लम्बिए ऊर्जा क्षेत्रमा गम्भीर दबाब पर्न सक्छ । यद्यपि, भारत सरकारले तत्काल पेट्रोल–डिजेलको मूल्य नबढाउने संकेत दिएको बताइएको छ ।
यसैबीच इरानले रणनीतिक समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरेको छ । इरानी सेनाले उक्त मार्गबाट आवतजावत गर्ने जहाजलाई निशाना बनाउन सकिने चेतावनी दिएको जनाइएको छ । ओमान र इरानबीच अवस्थित यो जलडमरूमध्य विश्वको तेल आपूर्तिका लागि सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण मार्गमध्ये एक हो ।
होर्मुज मार्ग अवरुद्ध भए विश्वव्यापी तेल आपूर्ति प्रभावित हुने निश्चितजस्तै देखिएको छ । विशेषगरी भारतलगायत एसियाली मुलुकहरू बढी असरमा पर्ने अनुमान गरिएको छ । ऊर्जा विश्लेषकहरूका अनुसार मार्ग लामो समय बन्द रहे अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्न सक्नेछ ।
हाल अन्तर्राष्ट्रिय बजारमा Brent crude को मूल्य करिब ५.५८५ प्रतिशतले बढेर प्रतिब्यारेल ८०.४१ डलर हाराहारी पुगेको छ । मूल्यमा आएको यो उकालोले आयातमा निर्भर अर्थतन्त्रहरूलाई थप चिन्तित बनाएको छ ।
ऊर्जा सुरक्षाको दृष्टिले भारतले रणनीतिक भण्डारण विस्तार, वैकल्पिक आयात स्रोतको खोजी तथा आपूर्ति विविधीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ । मध्यपूर्वको अस्थिरताले विश्व अर्थतन्त्रमै असर पार्ने संकेत देखिएकाले आगामी दिनहरूमा तेल बजारको उतारचढाव अझ तीव्र हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस