काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले आफ्नो स्थापना भएको ४५ वर्ष पूरा भएको अवसरमा शनिबार विविध कार्यक्रमका साथ स्थापना दिवस भव्य रूपमा मनाएको छ।
बनेपामा आयोजित उक्त कार्यक्रममा कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यता रहेको थियो भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकामा कार्यरत तथा सेवा निवृत्त कर्मचारीहरू, उत्कृष्ट विद्यालय, विद्यार्थी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बादेले बनेपा नगरपालिकाको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै विकास निर्माणका कामहरू अपेक्षाअनुसार तीव्र गतिमा अघि बढ्न नसके पनि भएका उपलब्धिहरूलाई नजरअन्दाज गर्न नहुने बताउनुभयो। उहाँले बागमती प्रदेश सरकारले सामाजिक विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बनेपा नगरपालिकासँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, विशेष अतिथि दीपक गौतमले मुलुकको विकास किन अपेक्षाअनुसार हुन सकेन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै सकारात्मक सोच, सहकार्य र जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले बनेपा नगरपालिकाले आगामी दिनमा अझ उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले बनेपा नगरपालिकाले हालसम्म सम्पन्न गरेका विकास तथा सेवा प्रवाहसम्बन्धी कार्यहरूको विस्तृत जानकारी गराउँदै सीमित स्रोत–साधन र बजेटका बाबजुद पनि जनताको अपेक्षा पूरा गर्ने प्रयास भइरहेको बताउनुभयो। उहाँले ‘जेनजी आन्दोलन’का क्रममा नगरपालिकालाई करिब ८ करोड रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख गर्दै यस्ता घटनाले विकास प्रक्रियामा असर पर्ने बताउनुभयो।
यसैबीच, उपप्रमुख बिमला सापकोटाले आफूले इमान्दारीपूर्वक काम गर्दा पनि बाहिर गलत प्रचार हुने गरेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधिहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्पष्ट पार्दै कुनै पनि काम गरेबापत व्यक्तिगत लाभ नलिएको दाबी गर्नुभयो। साथै, यस्ता आधारहीन हल्ला तथा भ्रममा नपर्न नगरवासीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थापना दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो, जसले समारोहलाई थप आकर्षक बनाएको थियो।
प्रतिक्रिया दिनुहोस