२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

काभ्रेमा महिला उद्यमशीलता विकासबारे सहकारी केन्द्रित छलफल


८००९ पाठक संख्या
  • २०८२ चैत्र १६, सोमबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक — महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला सहकारी संघ लि. काभ्रेको महिला विकास उपसमितिले सहकारीमा आधारित महिला उद्यमशीलता विकाससम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर “उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

    चैत्र १६ गते संघको सभाहलमा सम्पन्न कार्यक्रममा महिला विकास उपसमितिका संयोजक तथा सञ्चालक सदस्य अम्बिका तिमल्सिनाको सभापतित्व रहेको थियो। कार्यक्रममा बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटा प्रमुख अतिथि तथा सामाजिक विकास कार्यालयकी शाखा प्रमुख मन्जु कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठ, सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका सदस्यहरू, संघका कर्मचारीहरू तथा विभिन्न सहकारी संस्थाबाट प्रतिनिधित्व गर्ने ४४ जना सहभागीहरूको सक्रिय उपस्थिति रहेको थियो। यसले सहकारी क्षेत्रभित्रको समन्वय र सहभागितालाई थप सुदृढ बनाएको आयोजकको भनाइ छ।

    कार्यक्रमको सुरुवात महिला विकास उपसमितिकी सदस्य रामशोभा खड्काको स्वागत मन्तव्यबाट भएको थियो। उहाँले सहकारी संस्थामार्फत महिलाहरूलाई उद्यमशीलतामा जोड्न सकेमा आर्थिक सशक्तीकरणसँगै सामाजिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा महिला उद्यमी दिक्षा पौडेलले प्रशिक्षण सत्र सञ्चालन गर्नुभयो। उहाँले सहकारीको माध्यमबाट साना तथा मझौला उद्यम स्थापना र विस्तारका सम्भावनाहरू, प्रभावकारी व्यवसाय योजना निर्माण, पूँजी व्यवस्थापन, जोखिम न्यूनीकरण, बजार व्यवस्थापन तथा नवप्रवर्तनका उपायहरूबारे व्यवहारिक उदाहरणसहित प्रस्तुति दिनुभयो। उक्त प्रशिक्षणले सहभागीहरूलाई उद्यम सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

    मन्तव्यका क्रममा प्रमुख अतिथि बिमला सापकोटाले स्थानीय तह र सहकारीबीच सहकार्यलाई अझ प्रभावकारी बनाउँदै महिलाको उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले महिलालाई आर्थिक रूपमा सक्षम बनाउने कार्यक्रमहरूलाई स्थानीय सरकारले समेत उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    विशिष्ट अतिथि मन्जु कार्कीले सहकारी संस्थाहरूले पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई संस्थागत गर्दै महिलामैत्री कार्यक्रमहरू विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार सहकारी क्षेत्रले महिलाहरूको क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

    संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी संस्थाहरूलाई बचत तथा ऋणमा मात्र सीमित नराखी उत्पादनमूलक र उद्यमशील गतिविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले महिला सहभागिता वृद्धि र उद्यमशीलता प्रवर्द्धनका लागि संघले नीति, कार्यक्रम र तालिममार्फत निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो।

    कार्यक्रमका सभापति अम्बिका तिमल्सिनाले महिला विकास उपसमितिको तर्फबाट आगामी दिनमा अझ प्रभावकारी, लक्षित र परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिलाहरूको आर्थिक सशक्तीकरणलाई दीगो विकासको आधारका रूपमा लिनुपर्ने बताउनुभयो।

    अन्तरक्रिया सत्रमा सहभागीहरूले सहकारीमार्फत उद्यम सञ्चालनका क्रममा भोगिएका व्यावहारिक चुनौतीहरू—जस्तै वित्तीय पहुँचको कमी, बजार सुनिश्चितताको अभाव, सीप अभाव तथा नवप्रवर्तनका अवसरहरूबारे खुलेर आफ्ना अनुभव र धारणा राखेका थिए। यस क्रममा समस्या समाधानका सम्भावित उपायहरूबारे समेत सार्थक छलफल भएको थियो।

    कार्यक्रमले सहकारीमार्फत महिला उद्यमशीलता विकासलाई व्यवहारिक रूपमा अघि बढाउने दिशामा महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ। साथै, यस्ता पहलहरूले सहकारी अभियानलाई उत्पादनमुखी र परिणाममुखी बनाउँदै स्थानीय आर्थिक विकास र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार