२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

रातभर सर्च अपरेशन, काठमाडौंका विभिन्न स्थानबाट १९५ जना नियन्त्रणमा


३०१७ पाठक संख्या
  • २०८२ चैत्र २१, शनिबार मा प्रकाशित ३ महिना अघि
  • २१ चैत, काठमाडौं । राजधानीको शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले काठमाडौं प्रहरीले सञ्चालन गरेको विशेष सर्च अपरेशनमा १९५ जना व्यक्तिहरू नियन्त्रणमा परेका छन् । रातभर सञ्चालन गरिएको उक्त अभियानमा गुण्डागर्दी, ठगी, बिचौलिया गतिविधि तथा अन्य शंकास्पद क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई लक्षित गरिएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार राजधानीका संवेदनशील तथा भीडभाड हुने क्षेत्रहरूमा केन्द्रित भएर संयुक्त रूपमा सर्च अपरेशन सञ्चालन गरिएको हो । विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रमा प्रहरी टोलीले एकसाथ निगरानी बढाउँदै छापा मार्ने शैलीमा अपरेशन अघि बढाएको थियो ।

    प्रहरीका अनुसार पर्यटक लक्षित ठगी, मान्छे तान्ने (टाउटिङ), अवैध बिचौलियापन तथा विगतदेखि गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको गतिविधि नियन्त्रण गर्न अभियान केन्द्रित गरिएको थियो । सर्चका क्रममा शंकास्पद रूपमा हिँडडुल गरिरहेका, पहिलेदेखि निगरानीमा रहेका तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंका गरिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

    ‘ठमेल, विमानस्थल लगायतका क्षेत्रमा अवैध गतिविधिमा संलग्न, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न तथा बिचौलियाको रूपमा काम गर्ने १९५ जनालाई नियन्त्रणमा लिएका छौं,’ एसएसपी थापाले जानकारी दिए ।

    नियन्त्रणमा लिइएकाहरूको पहिचान खुलाउने, संलग्नता पुष्टि गर्ने तथा आवश्यक प्रमाण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा केहीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने तथा निर्दोष देखिएकाहरूलाई छानबिनपछि छाडिने सम्भावना पनि रहेको छ ।

    प्रहरीले पछिल्लो समय राजधानीका विभिन्न क्षेत्रमा बढ्दो ठगी, अवैध दलाली तथा संगठित आपराधिक गतिविधिलाई नियन्त्रण गर्न यस्तो अपरेशनलाई निरन्तरता दिने जनाएको छ । साथै, नागरिकलाई पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।

    यस किसिमको सर्च अपरेशनले राजधानीमा आपराधिक गतिविधि नियन्त्रणमा मद्दत पुग्ने विश्वास गरिएको छ भने सार्वजनिक सुरक्षाप्रति प्रहरी अझ सक्रिय रूपमा लागिपरेको संकेतसमेत दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार