काभ्रेपलाञ्चोक, पाँचखाल । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित पाँचखालमा प्रजातन्त्र दिवस विशेष प्रवर्द्धनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विभिन्न सहकारी संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सहकारी क्षेत्रको प्रभावकारिता, पारदर्शिता र स्थानीय आर्थिक विकासमा यसको भूमिकालाई थप सशक्त बनाउने उद्देश्य लिएको थियो।
पाँचखाल नगरपालिकाभित्र क्रियाशील सहकारी संस्थाहरूको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा कृषि, वित्त, महिला सशक्तीकरण तथा उत्पादनमूलक क्षेत्रमा सहकारीको योगदानबारे गहन छलफल गरिएको थियो। कार्यक्रम पाँचखाल नगरपालिका कृषि शाखा प्रमुख हेमन्त पौडेलको कुशल सञ्चालनमा सम्पन्न भएको थियो भने सभाध्यक्षता पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवारले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले सहकारीलाई केवल बचत तथा ऋणको माध्यममा सीमित नराखी उत्पादन, उद्यमशीलता विकास र रोजगारी सिर्जनाको प्रमुख साधनका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था उपाध्यक्ष राजन कार्कीले सहकारीले स्थानीय स्रोत, सीप र पूँजीलाई एकीकृत गर्दै दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गर्नुभयो। त्यस्तै, प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष केशव प्रसाद काफ्लेले सहकारीको सफलताका लागि पारदर्शिता, सुशासन र सदस्यको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। स्वेच्छा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष ओमकार श्रेष्ठले सहकारीप्रति जनविश्वास अभिवृद्धि गर्न उत्तरदायित्वपूर्ण अभ्यास र नियमित अनुगमन आवश्यक रहेको धारणा राख्नुभयो।
पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष केदार लुईटेलले सहकारीमार्फत कृषि, पर्यटन र साना उद्यमको प्रवर्द्धन गर्न सकिने सम्भावनालाई उजागर गर्नुभयो भने प्रतिष्ठा कृषि सहकारी संस्था उपाध्यक्ष श्यामबहादुर दुलालले कृषि उत्पादनमा आधुनिकीकरण र बजारीकरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष इन्दिरा गौतमले महिला सशक्तीकरण, आयआर्जन तथा आत्मनिर्भरता अभिवृद्धिमा सहकारीले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो।

वक्ताहरूले सहकारी संस्थामा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी व्यवस्थापन कायम राख्दै सदस्यहरूको हित संरक्षण गर्नुपर्नेमा एकमत व्यक्त गरेका थिए। साथै, सहकारीमार्फत युवालाई उद्यमशीलतामा आकर्षित गर्ने, सीप विकास तालिम सञ्चालन गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने आवश्यकता औंल्याइएको थियो।
कार्यक्रममा सहभागीहरूले सहकारी क्षेत्रलाई अझ व्यवस्थित, विश्वसनीय र प्रतिस्पर्धी बनाउन नीति सुधार, प्रविधिको प्रयोग र संस्थागत क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने निष्कर्ष समेत निकालेका थिए। यस्तो कार्यक्रमले सहकारी संस्थाहरूबीच सहकार्य, समन्वय र अनुभव आदानप्रदानलाई मजबुत बनाउँदै समग्र स्थानीय विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमले सहकारीलाई आर्थिक समृद्धिको आधारस्तम्भका रूपमा स्थापित गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रको योगदान अझ सशक्त बनाउने सन्देश दिएको आयोजकहरूको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस