२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

सरकारको नयाँ व्यवस्था: सातामा दुई दिन बिदा, कार्यालय समय ९–५


८७६३ पाठक संख्या
  • २०८२ चैत्र २२, आईतबार मा प्रकाशित ३ महिना अघि
  • काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

    सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने व्यवस्था गरिएको छ। यस निर्णयसँगै सरकारी कार्यालयहरूको कार्यसमय पनि परिमार्जन गरिएको छ। अब कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। यद्यपि, शैक्षिक संस्थाहरूको हकमा भने कार्यसमय सम्बन्धी व्यवस्था फरक हुने जनाइएको छ।

    बैठकले आर्थिक तथा विकाससम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ। साथै, ‘दिगो र समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण पनि स्वीकार गर्ने निर्णय भएको छ।

    त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार सबै मन्त्रालय, सचिवालय, आयोग तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ।

    बैठकले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको पनि प्रवक्ता पोखरेलले जानकारी दिए।

    वातावरण संरक्षण तथा इन्धन खपत घटाउने उद्देश्यले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय समेत गरिएको छ।

    यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिएको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा भने आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय गरिने जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार