११ वैशाख, पोखरा । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस शुक्रबार शेराटार क्षेत्रमा दुर्घटनामा परेको हो। बसमा चालकसहित ३२ जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेमध्ये ३१ जनालाई तत्काल उद्धार गरी जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा उपचारका लागि लगिएको थियो। सोही क्रममा उपचारकै क्रममा २ जनाको मृत्यु भएको उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए। मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको जनाइएको छ।
उपचार केन्द्रमा रहेका पत्रकार विनोद ढुंगानाका अनुसार एक जना घाइतेको उपचार सोही केन्द्रमै भइरहेको छ भने एक जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
अन्य २७ जना घाइतेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल र आसपासका स्वास्थ्य संस्थामा रिफर गरिएको छ। घाइतेहरूलाई एम्बुलेन्स, शववाहन, ट्याक्सी तथा माइक्रोबसमार्फत अस्पताल पुर्याइएको थियो। प्रारम्भिक उद्धारका क्रममा स्थानीय स्रोत अभाव हुँदा केही घाइतेलाई स्कुल बसमार्फत अस्पतालसम्म पुर्याइएको जानकारी प्राप्त भएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस