२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

पाँचखालमा चण्डी पूर्णिमा महोत्सवको रौनक: राष्ट्रिय कलाकारसँगै स्थानीय प्रतिभाको बेजोड प्रस्तुति हुने


५८२५ पाठक संख्या
  • २०८३ बैशाख १७, बिहिबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा पुनः सांस्कृतिक उत्सवको माहोलमा रमाउने भएको छ। भोली चण्डी पूर्णिमाको अवसर पारेर “वृहत सांस्कृतिक कार्यक्रम–२०८३” आयोजना गरिने भएको हो। पलाञ्चोक भगवतीस्थानमा हुने यस कार्यक्रमले धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

    कार्यक्रम आयोजकका अनुसार वैशाख १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुने यस महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। लोकदोहोरीदेखि आधुनिक गीतसम्मका चर्चित गायक–गायिकाले दर्शकलाई मनोरञ्जन दिनेछन् भने स्थानीय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाउनेछ।

    कार्यक्रममा रचना रिमाल, समीर लामिछाने, विशाल काल्तान, रिमा थापा, समीक्षा गौतम, राजेश पायल राई, रेशम खड्का, रिता खड्का, आशिष लामिछाने, राजु श्रेष्ठ (राजावाला), प्रविण गौतम लगायतका कलाकारहरूको प्रस्तुति रहने जानकारी दिइएको छ। साथै, उद्घोषणातर्फ गणेश के.सी. र संगिता पुडासैनी ले कार्यक्रम सञ्चालन गर्नेछन्।

    आयोजक समितिका अनुसार यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। पाँचखाल नगरपालिकाको प्रमुख सहयोगमा विभिन्न युवा क्लबहरू—कालिका युवा क्लब, एकता युवा क्लब, एकिकृत पहरी , पलाञ्चोक गैह्रीगाउ युवा क्लब , धन्द्रेखोला नेवा समाज तथा श्री पलाञ्चोक गैह्रीगाउँ युवा क्लब—को सक्रिय सहभागिता रहनेछ।त्यसैगरी कोअप्रेटिभ पार्टनरको भुमिका आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था रहेको छ ।

    यस अवसरमा स्थानीय स्तरमा रहेका प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गरिनेछ। आयोजकले सांस्कृतिक कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिएको जनाएको छ।

    कार्यक्रम स्थल पलाञ्चोक भगवतीस्थान धार्मिक दृष्टिले महत्वपूर्ण स्थल भएकाले पनि यस महोत्सवले धार्मिक पर्यटनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। महोत्सव अवधिभर हजारौं दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ।

    आयोजकले सम्पूर्ण कला–संस्कृति प्रेमी, स्थानीय बासिन्दा तथा आगन्तुकहरूलाई कार्यक्रममा उपस्थित भई उत्सवलाई सफल बनाउन हार्दिक निमन्त्रणा समेत दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार