२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

एक महिनापछि खुल्यो रहस्य : काभ्रेको वनमा सशस्त्र प्रहरी र युवतीको शव


९१०१ पाठक संख्या
  • २०८३ जेष्ठ २०, बुधबार मा प्रकाशित १ महिना अघि
  • काभ्रे, २० जेठ — करिब एक महिनादेखि सम्पर्कविहीन रहेका एक सशस्त्र प्रहरी सहायक निरीक्षक र एक युवतीको शव काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित सामुदायिक वनमा मृत अवस्थामा अवस्थामा फेला परेको छ। घटनाले स्थानीयवासी तथा सुरक्षा निकायलाई स्तब्ध बनाएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेमा कार्यरत जिल्ला पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी सशस्त्र प्रहरी सहायक निरीक्षक शक्ति राम गत वैशाख १९ गतेदेखि दुई दिनको बिदामा घर जाने भन्दै कार्यालयबाट निस्किएका थिए। तर उनी न घर पुगे, न कार्यालयमै सम्पर्कमा रहे। त्यसपछि सशस्त्र प्रहरी बलले वैशाख २१ गते खोजतलासका लागि प्रहरीलाई अनुरोध गरेको थियो।

    यसैबीच, कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी पनि सम्पर्कविहीन भएपछि उनका भाइ रन्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए।

    प्रहरी वृत्त बालाजुले अनुसन्धान गर्दा शर्मिला चौधरीको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोक जिल्लाभित्र देखिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले दुवै जनाको संयुक्त रूपमा खोजी अभियान सुरु गरेको थियो। प्रहरीले मोबाइल कल डिटेल रेकर्ड (CDR), बैंक कारोबार विवरण तथा अन्य प्राविधिक माध्यमबाट अनुसन्धानलाई अघि बढाएको जनाएको छ।

    खोजतलासकै क्रममा आज (बुधबार) बिहान करिब १०:३० बजे पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वन क्षेत्रमा सडेगलेका दुई कंकाल फेला परेको सूचना प्राप्त भएको थियो। घटनास्थलमा प्रहरी चौकी पाँचखाल तथा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली पुगेर अनुसन्धान थालेको थियो।

    घटनास्थलबाट बरामद भएका कपडा, व्यक्तिगत सामग्री तथा अन्य कागजात आफन्त र साथीभाइलाई देखाएर पहिचान गर्दा ती शवहरू शक्ति राम र शर्मिला चौधरीकै भएको खुलेको प्रहरीले जनाएको छ।

    दुवै शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ। घटनाको वास्तविक कारण, मृत्युको प्रकृति तथा अन्य सम्भावित पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    घटनाले विभिन्न प्रश्नहरू उब्जाएको छ भने पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र मृत्युको कारणबारे स्पष्ट हुन सक्ने प्रहरीको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार