२०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

मोबाइल बैंकिङ ह्याक शैलीको ठगी : हराएको सिमबाट २४ लाख हिनामिना


१२४९ पाठक संख्या
  • २०८३ जेष्ठ २२, शुक्रबार मा प्रकाशित १0 घण्टा अघि
  • काठमाडौं । सर्वसाधारणको हराएको मोबाइल सिमकार्डको दुरुपयोग गरी मोबाइल बैंकिङ सेवा अनधिकृत रूपमा सञ्चालन गर्दै लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–४ घर भई हाल भक्तपुरको सिर्जनानगर बस्ने २६ वर्षीय रोशन पहाडी र डडेल्धुराको अमरगढी नगरपालिका–८ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २५ वर्षीय सुभाष ओझा रहेका छन्। पहाडीलाई भक्तपुरको सल्लाघारी र ओझालाई ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पीडित कान्छी लामाको नाममा वि.सं. २०७० साल असोज २ गते जारी भएको मोबाइल नम्बर बैंक खाता खोल्दा प्रयोग गरिएको थियो। उक्त नम्बरमार्फत मोबाइल बैंकिङ सेवा समेत सक्रिय गरिएको थियो। तर करिब ६ वर्षपछि उक्त सिमकार्ड हराए पनि सम्बन्धित बैंक तथा सेवा प्रदायक संस्थामा आवश्यक अद्यावधिक नगरिएको पाइएको छ।

    अनुसन्धानका क्रममा सोही हराएको मोबाइल नम्बर वि.सं. २०७८ चैत १२ गते रोशन पहाडीको नाममा पुनः जारी भएको खुलेको छ। नम्बर पुनः सक्रिय भएपछि पीडितको बैंक खातासम्बन्धी एसएमएस तथा कारोबार सूचना पहाडीको मोबाइलमा आउन थालेको थियो।

    त्यसपछि पहाडी र ओझाले मिलेर सोही नम्बर प्रयोग गरी कुमारी बैंकको मोबाइल बैंकिङ सेवा पुनः सञ्चालन गरेको प्रहरी अनुसन्धानले देखाएको छ। उनीहरूले विभिन्न व्यक्तिहरूलाई झुक्याएर पीडितको बैंक खातामा रहेको रकम ई–सेवा, खल्ती लगायतका डिजिटल वालेट तथा अन्य व्यक्तिका बैंक खातामा ट्रान्सफर गराई नगदमा रूपान्तरण गर्ने गरेको खुलेको छ।

    प्रहरीका अनुसार उनीहरूले वि.सं. २०८० असार २० गतेदेखि २०८२ असोज ९ गतेसम्मको अवधिमा मोबाइल बैंकिङ प्रणालीको दुरुपयोग गर्दै २४ लाख ४७ हजार ५२८ रुपैयाँ विभिन्न बैंक तथा डिजिटल वालेट खातामा स्थानान्तरण गरी हिनामिना गरेका हुन्।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा संकलित प्रमाणका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो।

    पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले मोबाइल नम्बर हराएपछि वा प्रयोगमा नरहेपछि त्यससँग जोडिएका बैंक खाता, मोबाइल बैंकिङ सेवा तथा डिजिटल वालेट तत्काल अद्यावधिक वा निष्क्रिय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्तो लापरवाहीले वित्तीय अपराधको जोखिम उच्च हुने प्रहरीको चेतावनी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार