बनेपा, जेठ २५ । सहकारी क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र दिगो बनाउन युवा नेतृत्वको भूमिका निर्णायक रहने सरोकारवालाहरूले बताएका छन्। जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोक (डिस्कोफ) अन्तर्गतको युवा समन्वय उपसमितिले आयोजना गरेको “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक एकदिने अन्तरक्रिया गोष्ठीमा वक्ताहरूले सहकारीको भविष्य युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्वसँग जोडिएको बताउनुभएको छ ।
डिस्कोफको बनेपास्थित आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा युवा समन्वय उपसमिति संयोजक रोशनकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष अमन पोटे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य युवा समन्वय उपसमितिका सदस्य समेश सापकोटाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य सुरजकुमार न्यौपानेले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख प्रशिक्षक राजु सरकारले सहकारी क्षेत्रमा युवा सहभागिता, नेतृत्व विकास र आधुनिक व्यवस्थापन प्रणालीका विषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अमन पोटेले बदलिँदो समयसँगै सहकारी संस्थाहरूले परम्परागत कार्यशैली त्यागेर डिजिटल रूपान्तरणलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल बैंकिङ तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत सहकारी संस्थाको व्यवस्थापन खर्च घटाउन र कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभयो।
“अब पुरानै ढर्रामा सहकारी सञ्चालन गरेर अघि बढ्न सम्भव छैन। डिजिटल प्रविधि र एआईको प्रयोगले सुरुआती लगानी मागे पनि दीर्घकालीन रूपमा संस्थागत दक्षता बढाउँछ र खर्च घटाउँछ,” उहाँले भन्नुभयो।
अध्यक्ष पोटेले सहकारी क्षेत्रमा पुस्तान्तरणको आवश्यकता औंल्याउँदै पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा प्रविधिमैत्री सोचबीच सन्तुलित समन्वय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। नेतृत्वमा लामो समयसम्म एउटै व्यक्तिको निरन्तर उपस्थितिभन्दा सक्षम युवालाई अवसर र जिम्मेवारी हस्तान्तरण गर्ने संस्कारको विकास हुनुपर्ने उहाँको भनाइ थियो।
“बदलिँदो आधुनिक व्यवसाय, डिजिटल बैंकिङ र नवप्रवर्तनको युगमा युवा नेतृत्व अपरिहार्य छ। पुराना पुस्ताले युवाप्रति विश्वास गर्दै नेतृत्व हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नुपर्छ,” उहाँले जोड दिनुभयो।
गोष्ठीमा सहभागी वक्ताहरूले अबका तालिम, गोष्ठी तथा अन्तरक्रियाहरू औपचारिकतामा सीमित नभई समाजका वास्तविक समस्या र समाधानमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका थिए। छोटो, प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै जिल्ला सहकारी संघले आगामी दिनमा कार्यक्रम दर्ता, सहभागिता तथा सुझाव संकलन प्रक्रियालाई डिजिटल माध्यमबाट सञ्चालन गरी ‘पेपरलेस’ प्रणाली अपनाउने तयारी गरिरहेको जानकारी पनि दिइएको थियो।
कार्यक्रममा सहकारी क्षेत्रको नियमन थप व्यवस्थित बन्दै गएको सन्दर्भमा युवाहरूको भूमिका अझ महत्त्वपूर्ण भएको विषयमा समेत चर्चा गरिएको थियो। सहकारी संस्थाहरूलाई कोपमिस (COPMIS) प्रणालीमा आबद्ध गराउने प्रक्रिया तीव्र बनिरहेको तथा ठूला कारोबार गर्ने संस्थाहरूलाई थप नियमनको दायरामा ल्याउने तयारी भइरहेका बेला युवा जनशक्तिले प्रविधि, व्यवस्थापन र नेतृत्व क्षमता विकासमा ध्यान दिनुपर्ने सुझाव दिइयो।
प्रमुख प्रशिक्षक राजु सरकारले सहकारीको वर्तमान अवस्था, अवसर र चुनौतीबारे प्रशिक्षण दिँदै सहकारी अभियानमा युवाहरूलाई आकर्षित गर्न नवप्रवर्तन, पारदर्शिता र प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले सहकारीलाई आर्थिक संस्थामात्र नभई सामाजिक रूपान्तरणको माध्यमका रूपमा विकास गर्न युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको समापनको क्रममा संघको उपाध्यक्ष शान्ती लामाले जिल्ला सहकारी संघमा आबद्ध सहकारीहरुलाई सक्षम , सवल बनाउंदै अगाडि बढाउने तायारीका साथ अगाडि बढेको बताउंदै सहकारी क्षेत्रमा आबद्ध सहकारी कर्मीहरुको सफलताको उदाहरणहरु प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष रोशन कुमार श्रेष्ठले तालिममा जे जति कुराहरु सिकियो सो आफुमा मात्रै सिमित नराखि जानेका कुराहरु अरुलाई पनि सिकाउनु पर्ने बताउनु भयो । उहाँले थप्नुभयो विगतमा जति सहकारी विग्रीयपनि अव नविग्रने ठोकुवा गर्नुभयो । समुदायमा आधारित सहकारी कहिल्यै विग्रदैन , सो भन्दा फरक ढंगबाट सञ्चालन भएको सहकारी बिग्रीएको हो । सभाध्यक्ष श्रेष्ठले थप्नुभयो ।
जिल्लाका विभिन्न सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको उक्त अन्तरक्रिया गोष्ठीले सहकारी क्षेत्रमा युवा नेतृत्व विकास, डिजिटल रूपान्तरण र संस्थागत सुदृढीकरणका विषयमा महत्वपूर्ण बहस सिर्जना गरेको आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस