२०८३ अषाढ २१, आईतबार | Sun, 05, Jul, 2026

ज्ञानकुञ्जमा नयाँ यात्रा सुरु, पुराना विद्यार्थीलाई सम्मानसहित बिदाइ


११७१ पाठक संख्या
  • २०८३ अषाढ २१, आईतबार मा प्रकाशित ७ घण्टा अघि
  • बनेपा, असार २०८३ — काभ्रेपलाञ्चोकको बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीलाई भावपूर्ण बिदाइ तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ।

    शिक्षा विद्यार्थीका लागि, विद्यार्थी देशका लागि’ भन्ने मूल नाराका साथ सञ्चालित प्रतिष्ठानले विद्यार्थीमा नैतिक, व्यवहारिक तथा व्यावसायिक शिक्षासँगै नेतृत्व क्षमता, व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

    प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रिन्सिपल मराज दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापामगरले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई टीका, खादा, मेडल, ब्याच तथा प्रमाणपत्र प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गर्नुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक वैद्यले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सफल भविष्यको शुभकामना व्यक्त गर्दै समाज र राष्ट्रप्रति उत्तरदायी नागरिकका रूपमा अघि बढ्न आग्रह गर्नुभयो। उहाँले प्रतिष्ठानले गुणस्तरीय, आधुनिक तथा वैज्ञानिक शिक्षण प्रणालीमार्फत अभिभावकको विश्वास जित्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा संस्थाले निरन्तर साथ र सहयोग गर्ने विश्वास दिलाउनुभयो।

    सोही अवसरमा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित २०८२ सालको कक्षा १२ को परीक्षामा प्रतिष्ठानलाई शतप्रतिशत नतिजा दिलाउन योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो।

    सहायक कलेज प्रमुखले विद्यार्थीलाई अध्ययनसँगै सामाजिक, सांस्कृतिक, खेलकुदलगायतका क्षेत्रमा पनि सक्रिय सहभागिता जनाउन आग्रह गर्दै ज्ञानकुञ्जबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई जीवनोपयोगी बनाउँदै नेतृत्वदायी व्यक्तित्वका रूपमा स्थापित हुन शुभकामना व्यक्त गर्नुभयो।

    कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरी वातावरणलाई थप उल्लासमय बनाएका थिए। कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायका प्रतिनिधिले यस्ता कार्यक्रमले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै सामाजिक, सांस्कृतिक र भावनात्मक विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार