काठमाडौं, २२ असार । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहले राजधानीमा छुट्टै कार्यालय स्थापना गर्दै आफ्नो राजनीतिक गतिविधिलाई थप व्यवस्थित बनाउने संकेत दिएको छ। समूहका नेता तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार आयोजित कार्यक्रममा कार्यालयको उद्घाटन गर्दै आगामी दिनमा नियमित छलफल र संगठनात्मक गतिविधि अघि बढाइने घोषणा गर्नुभयो।
उद्घाटन कार्यक्रममा कांग्रेसका नेता डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यालय उद्घाटनअघि नेताहरूबीच समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक व्यवस्थापन तथा महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल भएको थियो।
छलफलका क्रममा नेता खड्काले पार्टीभित्र भइरहेको संवाद र सहमतिका प्रयासबारे विस्तृत जानकारी गराउँदै इतर समूह अहिले १११ जना केन्द्रीय सदस्यसहित एकढिक्का रहेको बताउनुभयो। उहाँका अनुसार यही समूहलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने प्रस्ताव पार्टी नेतृत्वसमक्ष राखिएको छ।
खड्काले सातबुँदे प्रस्तावको जवाफ उपसभापति विश्वप्रकाश शर्मालाई लिखित रूपमा बुझाइसकेको जानकारी दिँदै, उक्त प्रस्तावलाई अन्तिम सहमतिका रूपमा तयार गरिएको बताउनुभयो। उहाँका अनुसार उपसभापति शर्माले उक्त विषय महामन्त्री गगन थापासहित अन्य नेताहरूसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
ब्रिफिङका क्रममा खड्काले उपसभापति शर्माले आफू र डा. शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भइसकेको जानकारी दिएको उल्लेख गर्नुभयो। तर आफूले उक्त प्रस्ताव स्वीकार नगरेको उहाँको भनाइ थियो।
खड्काले त्यसपछि थप प्रगतिको अपेक्षामा भोलिपल्ट बिहानसम्म प्रतीक्षा गरे पनि कुनै औपचारिक जानकारी नआएको बताउनुभयो। त्यसबीच शीर्ष नेताहरूको सदस्यता स्वतः नवीकरण हुने विषयमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि देशभरबाट कार्यकर्ताको चासो बढेको उहाँले उल्लेख गर्नुभयो। त्यसपछि आफूले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गरेको र त्यसपछि फोन आउने क्रम रोकिएको उहाँको भनाइ थियो।
नेता खड्काले अब आगामी दुई–तीन दिन लगातार छलफल सञ्चालन गरिने जानकारी दिँदै साउन ६ गते बीपी जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको पनि बताउनुभयो।
पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी संगठनात्मक रणनीतिका सन्दर्भमा इतर समूहले छुट्टै कार्यालय स्थापना गर्नु कांग्रेसभित्र नयाँ राजनीतिक सन्देशका रूपमा हेरिएको छ।





प्रतिक्रिया दिनुहोस