२०८३ अषाढ २२, सोमबार | Mon, 06, Jul, 2026

नापित समुदायको संस्थागत सुदृढीकरणमा जोड, वार्षिक कार्ययोजना पारित


३२५१ पाठक संख्या
  • २०८३ अषाढ २२, सोमबार मा प्रकाशित ७ घण्टा अघि
  • काठमाडौं,  नेपाल नापित समाज केन्द्रीय कार्यसमितिले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक कार्ययोजना तर्जुमा गरेको छ। काठमाडौंको जर्सिङपौवास्थित हिल भिजन रिसोर्टमा शनिबार आयोजित ‘वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम–२०८३’ मा चार जिल्लाका प्रतिनिधिहरूको सक्रिय सहभागितासहित आगामी वर्षको नीति तथा कार्यक्रम तय गरिएको हो।

    नेपाल नापित समाजका अध्यक्ष ज्ञानबहादुर नापितको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार पुरुषोत्तम नापित, नारायण नापित तथा कानुनी सल्लाहकार प्रवीण नापितको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रममा ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोकबाट सहभागी प्रतिनिधिहरूलाई चार समूहमा विभाजन गरी समाजका महासचिव राजेन्द्र नापितले प्रस्तुत गर्नुभएको ११ बुँदे कार्ययोजना प्रस्तावमाथि विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा जिल्लाबाट आएका सुझाव, अनुभव र आवश्यकताका आधारमा थप योजनासमेत समेटेर आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक कार्ययोजना अन्तिम रूप दिइएको आयोजकले जनाएको छ।

    कार्यक्रमको उद्घाटन सत्रमा समाजका वरिष्ठ उपाध्यक्ष जगदीश्वर नापितले स्वागत मन्तव्य व्यक्त गर्दै संगठनलाई समयअनुकूल, प्रभावकारी र सदस्यमुखी बनाउन सामूहिक योजना निर्माण आवश्यक रहेको बताउनुभयो।

    सल्लाहकार पुरुषोत्तम नापितले अध्यक्ष कोषको प्रभावकारी परिचालन र त्यसबाट सदस्यहरूको हितमा सञ्चालन गर्न सकिने कार्यक्रमबारे धारणा राख्नुभयो। नारायण नापितले समाजले हालसम्म गरेका गतिविधि, उपलब्धि तथा आगामी कार्यदिशाबारे प्रकाश पार्नुभयो भने कानुनी सल्लाहकार प्रवीण नापितले संस्थाको विधान, यसको कार्यान्वयन तथा आवश्यक परिमार्जनका विषयमा सुझाव दिनुभयो।

    छलफलमा सहभागी चारै जिल्लाका प्रतिनिधिहरूले संगठन विस्तार, सदस्यता व्यवस्थापन, पेशागत सीप विकास, युवा सहभागिता, सामाजिक सुरक्षा, आर्थिक सशक्तीकरण तथा संस्थागत सुशासनका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए। ती सुझावहरूलाई आगामी वार्षिक योजनामा समावेश गरिएको समाजले जनाएको छ।

    कार्यक्रमको सञ्चालन समाजका सचिव राजेन्द्र नापित नेवाःले गर्नुभएको थियो। समापनका अवसरमा अध्यक्ष ज्ञानबहादुर नापितले सहभागी सबैप्रति आभार व्यक्त गर्दै सामूहिक छलफलबाट तयार गरिएको कार्ययोजनाले आगामी वर्ष नेपाल नापित समाजलाई अझ संगठित, सक्रिय र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सबै जिल्ला समिति र सदस्यहरूलाई योजनाको प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार