काभ्रे, साउन २९ गते । काभ्रेको बनेपामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक वृद्धको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब ११ः१५ बजे बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिकै शुभकामना हलअगाडि बनेपा–पनौती सडकखण्डमा दुर्घटना भएको हो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.३ ख २०१४ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०४२प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट स्कुटरको पछाडि सवार पनौती नगरपालिका–८ मल्पीका ६९ वर्षीय देवेन्द्रबहादुर खत्री गम्भीर घाइते भएका थिए । उनको दुवै हातमा चोट लाग्नुका साथै छातीमा भित्री चोट लागेको थियो ।
घाइते खत्रीलाई तत्काल उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो १२ः२२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।स्कुटर चालक पनौती–८ मल्पीका ४१ वर्षीय सन्तोष खत्री भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पार्किङ गरी राखिएको बा.५१ प ३२० नम्बरको मोटरसाइकल र ‘अन टेस्ट’ टीभीएस मोटरसाइकलमा समेत क्षति पुगेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न बस, स्कुटर तथा बस चालक पनौती नगरपालिका–३ कुशादेवीका करिब ४० वर्षीय सुरेश सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस