काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट प्रहरीले बिलबिजक नभएका करिब ४७ लाख रुपैयाँ मूल्य बराबरका चाँदीका विभिन्न गरगहना तथा तयारी सामान बरामद गरेको छ।
प्रहरीले बिहीबार बिहान करिब १०ः३० बजे बीपी राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा मोरङतर्फबाट आएको को १ च ८६६२ नम्बरको सुमो रोकी चेकजाँच गर्दा बिलबिजक नभएका चाँदीका सामान फेला पारेको हो।
अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमान्डमा खटिएको टोलीले सुमोमा रहेको शंकास्पद कार्टुन खोलेर जाँच गर्दा विभिन्न प्रकारका चाँदीका गरगहना तथा तयारी सामान फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त सामान मोरङको उर्लाबारी नगरपालिका–६ का करिब ४४ वर्षीय खगेन्द्र गजमेरले ल्याएका थिए भने सुमो मोरङको लेटाङ नगरपालिका–६ का करिब ३६ वर्षीय पदमबहादुर विकले चलाएका थिए।
सामानको बिल तथा आवश्यक कागजात माग्दा प्रस्तुत गर्न नसकेपछि प्रहरीले सामानसहित सुमो र सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचर, काठमाडौं पठाएको छ।
मान्यता प्राप्त तराजुमा तौल गर्दा बरामद चाँदीका सामानको कुल तौल ११ किलो ६८२ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार ती सामानको मूल्य करिब ४७ लाख रुपैयाँ रहेको छ।
बरामद सामानमा १३ जोर कल्ली, ५ वटा जन्तर, १ थान जन्तरमाला, विभिन्न डिजाइनका ४८ वटा ब्रासलेट, ४२ वटा पोतेमाला, ढुङ्गी, बुलाकी, टप, औँठी, झुम्का, शिरबन्दी, बलमाला, कानमा लगाउने रिङ, चुरा, ५४ जोर पाउजु तथा ८ थान खड्कुलो लगायतका चाँदीका सामान रहेका छन्।
प्रहरीले बरामद सामानको वास्तविक प्रकृति, स्रोत, कारोबार तथा आवश्यक कागजातका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस