२०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

गोकर्णेश्वरका नागरिकलाई एक लाखसम्मको उपचार सुविधा


९११ पाठक संख्या
  • २०८३ श्रावण २९, शुक्रबार मा प्रकाशित ४ घण्टा अघि
  • काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकले अब नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन्। नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको हो।

    बिहीबार आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सम्झौतापत्रमा हस्ताक्षर गरे।

    नगरपालिकाले ८५ प्रतिशत, कलेजले १५ प्रतिशत व्यहोर्ने

    सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास भएका र नगरपालिकाको सिफारिस लिएर नेपाल मेडिकल कलेजमा उपचारका लागि आएका नागरिकले एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन्।

    तर, यो सुविधा लिनुअघि नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक उपचार तथा औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधाको पूर्ण उपयोग गरिसकेको हुनुपर्नेछ।

    त्यसपछि बाँकी उपचार खर्चमध्ये ८५ प्रतिशत नगरपालिकाले व्यहोर्नेछ भने नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत १५ प्रतिशत छुट दिनेछ।

    सुविधा लिन नागरिकता तथा मतदाता परिचयपत्रका आधारमा आफ्नो पहिचान खुलाउनुपर्ने व्यवस्था गरिएको छ। उपचारका क्रममा आवश्यक औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ। त्यस्तै, रगत आवश्यक पर्ने बिरामीका लागि नगरपालिकाले प्रतिपिन्ट एक हजार १५० रुपैयाँसम्मको प्रयोगशाला परीक्षण शुल्क शोधभर्ना गर्ने व्यवस्था गरेको छ।

    ओपीडीदेखि क्याथ ल्याबसम्म छुट

    सम्झौताअन्तर्गत नगरवासीले नेपाल मेडिकल कलेजमा ओपीडी दर्ता निःशुल्क गर्न पाउनेछन्। अस्पतालका विभिन्न स्वास्थ्य सेवामा समेत १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

    छुट पाउने सेवामा प्रयोगशाला परीक्षण, जनरल बेड, एक्स–रे, यूएसजी, ईसीजी, इन्डोस्कोपी तथा कोलोनोस्कोपी, फिजियोथेरापी, डायग्नोस्टिक प्रोसेडर, दन्त सेवा, क्याथ ल्याब तथा इम्प्लान्टबाहेकका शल्यक्रियालगायत सेवा समेटिएका छन्।

    ‘आर्थिक अभावमा उपचार नपाएर मर्नुपर्ने अवस्था हुँदैन’

    सम्झौता कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले आर्थिक अभावका कारण कुनै पनि नगरवासी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएको बताए।

    “गोकर्णेश्वरवासी कोही पनि आर्थिक अभावमा उपचार नपाएर मर्नु पर्दैन। हामीले १३ वटा अस्पतालसँग सम्झौता गरेर एक लाख रुपैयाँसम्मको उपचार खर्च नगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरेका छौँ,” उनले भने।

    नगर प्रमुख रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरवका रूपमा रहेको उल्लेख गर्दै कलेजकै कारण नगरवासीले सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने अवसर प्राप्त गरेको बताए।

    ‘अन्य स्थानीय तहका लागि पनि उदाहरण’

    नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले गोकर्णेश्वर नगरपालिकाले अघि सारेको स्वास्थ्य उपचार कार्यक्रम अन्य स्थानीय तहका लागि समेत उदाहरणीय भएको बताए।

    “यो स्किम निकै सराहनीय छ। यसको सिको अन्य नगरपालिकाले पनि गर्नुपर्छ। नेपाल मेडिकल कलेज नगरवासीको सेवाका लागि हरदम तत्पर छ,” उनले भने।

    अन्सारीले नेपालमा सञ्चालन भइरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकको आर्थिक अवस्थाअनुसार अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे। उनले विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी स्वास्थ्य बीमाको संरचना थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

    कलेजका पूर्वअध्यक्ष डा. भोला रिजालले आर्थिक रूपमा कमजोर नागरिकका लागि एक लाख रुपैयाँसम्मको उपचार खर्च नगरपालिकाले व्यहोर्ने व्यवस्थाले ठूलो राहत पुग्ने बताए।

    सञ्चालक समिति सदस्य डा. आनन्दप्रसाद श्रेष्ठले स्थानीय सरकार र स्वास्थ्य संस्थाबीचको सहकार्यले नागरिकको स्वास्थ्य सेवामा पहुँच थप सहज हुने विश्वास व्यक्त गरे। सञ्चालक सदस्य शाहनवाज अन्सारीले पनि नगरपालिकासँगको सहकार्यले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर विस्तार भएको बताए।

    ‘तीन–चार वर्षदेखिको सहकार्यलाई निरन्तरता’

    नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले कलेजले गोकर्णेश्वर नगरपालिकासँग विगत तीन–चार वर्षदेखि नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य गर्दै आएको जानकारी दिइन्।

    यस वर्ष सम्झौता गर्न केही ढिलाइ भए पनि नगरवासीलाई एक लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराउने व्यवस्था महत्वपूर्ण उपलब्धि भएको उनले बताइन्।

    “तीन–चार वर्षदेखि हामीले नगरपालिकासँग सहकार्य गरिरहेका छौँ। यो वर्ष केही ढिलो भएको मात्र हो। नगरवासीलाई यस्तो सुविधा उपलब्ध गराउनु निकै ठूलो उपलब्धि हो। यसलाई निरन्तर अगाडि बढाउँदै लैजान्छौँ,” उनले भनिन्।

    नगरवासीको स्वास्थ्योपचारमा कलेजले कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो।

    नगर उपप्रमुख सान्नानी लामाले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको ‘गहना’ भएको बताउँदै नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन तथा दक्ष चिकित्सक उत्पादनमा कलेजले खेलेको भूमिकाको प्रशंसा गरिन्।

    नगरपालिका र नेपाल मेडिकल कलेजबीचको यो सहकार्यले विशेषगरी आर्थिक रूपमा कमजोर नगरवासीको उपचारमा पहुँच बढाउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

    कार्यक्रममा कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारी, निर्देशक डा. राजेश किशोर श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्यायलगायत कलेजका फ्याकल्टी सदस्य तथा नगरवासी सेवाग्राहीहरूको उपस्थिति थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु