२०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

हत्याको विरोधमा सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध


१७६९ पाठक संख्या
  • २०८३ भाद्र ३, बुधबार मा प्रकाशित २१ घण्टा अघि
  • ३ भदौ, बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा बाराको सिमरामा स्थानीयवासीले प्रदर्शन गर्दै करिब सात घण्टादेखि सडक अवरुद्ध गरेका छन्। स्थानीयको प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्।

    जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया चौधरीको हत्या भएको घटनामा प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। बालिका हराएको सूचना समयमै इलाका प्रहरी कार्यालय सिमरालाई दिइए पनि प्रहरीले खोजीमा पर्याप्त चासो नदिएको स्थानीयको आरोप छ।

    स्थानीयका अनुसार बालिका हराएको तीन दिनसम्म प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समेत समयमै अनुसन्धानको दायरामा नल्याएको भन्दै प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ।

    बालिकाको शव मंगलबार साँझ फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। तर, परिवारले शव फेला पर्नुअघि नै ती दुई जनाविरुद्ध किटानी जाहेरी दिएको स्थानीयको भनाइ छ। घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानमै कमजोरी भएको आरोप लगाउँदै स्थानीयले इलाका प्रहरी कार्यालय सिमराको नेतृत्व परिवर्तन गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

    शव फेला परेपछि घटनाले थप उग्र रूप लिएसँगै स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै दोषीमाथि कडा कारबाही र प्रहरीको लापरबाहीबारे छानबिनको माग गरेका छन्।

    सडक अवरुद्ध भएपछि अवस्था सहज बनाउन बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत सुरक्षा अधिकारी घटनास्थलमा पुगेका छन्। उनीहरूले आन्दोलनरत स्थानीयसँग सडक खुलाउने विषयमा छलफल गरे पनि सहमति जुट्न सकेको छैन।

    स्थानीयवासीले बालिका हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीसँगै अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि समेत कारबाही नभएसम्म आन्दोलन फिर्ता नलिने अडान राखेका छन्। सडक अवरोधका कारण वीरगञ्ज–पथलैया आवागमन प्रभावित बनेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु