काठमाडौं, साउन ३० । नेपाल नापित समाज, केन्द्रीय कार्यसमितिले वि.सं. २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण नापित समुदायका विद्यार्थीलाई सम्मान गरेको छ।
काठमाडौंको बागबजारस्थित न्हुज पार्टी भेन्युमा शनिबार आयोजित कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानपत्रसहित सम्मान गर्दै उनीहरूको शैक्षिक सफलताको प्रशंसा गरिएको हो। विद्यार्थीको मेहनत र उपलब्धिको कदर गर्दै आगामी शैक्षिक यात्राका लागि थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।
कार्यक्रममा भूगर्वविद श्री दिनेश कुमार नापितको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले शिक्षा नै व्यक्ति, परिवार र समुदायको उन्नतिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई उच्च शिक्षा हासिल गरी समाज र राष्ट्रको विकासमा योगदान पुर्याउन आग्रह गर्नुभएको थियो।
सम्मान कार्यक्रममा नापित समुदायका विद्यार्थी, अभिभावक, समाजका पदाधिकारी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। वक्ताहरूले एसईई उत्तीर्ण गर्नु विद्यार्थीको जीवनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसलाई उच्च शिक्षा र सफल भविष्यको पहिलो खुड्किलोका रूपमा लिनुपर्नेमा जोड दिएका थिए।
नेपाल नापित समाजले समुदायका विद्यार्थीलाई अध्ययनप्रति प्रेरित गर्ने, शैक्षिक उपलब्धिको सम्मान गर्ने तथा प्रतिभाशाली युवालाई अघि बढाउन प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ। समाजका अनुसार विद्यार्थीको सफलतालाई सम्मान गर्दा उनीहरूमा आत्मविश्वास बढ्नुका साथै अन्य विद्यार्थीलाई समेत उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीलाई आगामी दिनमा अझ मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन अघि बढाउन शुभकामना दिइएको थियो। साथै, नापित समुदायको शैक्षिक विकासका लागि यस्ता रचनात्मक तथा प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
शैक्षिक सफलताको सम्मानसँगै विद्यार्थीको भविष्य निर्माणमा समुदायको साथ र प्रोत्साहन आवश्यक रहेको सन्देश दिँदै कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस