२०८३ आश्विन १४, बुधबार | Wed, 30, Sep, 2026

बागलुङमा बाढीपहिरोको कहर : १२ जनाको मृत्यु, ६१ घर–गोठ बगे


६५१ पाठक संख्या
  • २०८३ आश्विन १४, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले बागलुङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार विपद्मा १२ जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने ६१ घर तथा गोठ बगेका छन्।

    बाढीपहिरोबाट ५१ घर र १० गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने थप ५१ घरमा आंशिक क्षति पुगेको छ। निसीखोला र तमानखोला सबैभन्दा बढी प्रभावित भएका छन्। गलकोट–९ को वडा कार्यालयसमेत दरमखोलाको कटानमा बगेको छ।

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार तीन झोलुङ्गे पुल, दुई प्रहरी कार्यालय, दुई जलविद्युत् आयोजना, एक विद्यालय, एक रिसोर्ट तथा कृषि फार्ममा समेत क्षति पुगेको छ। विपद्मा २५६ पशुचौपाया र २१५ कुखुरा मरेका छन्।

    निसीखोला–४ मा मात्रै २२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बडिगाड–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक क्षति भएका छन्। तमानखोला–४ सन्तरमा आठ तथा गलकोट–१ फैरसोतमा पाँच घरसहित दुई होटल तथा रिसोर्टमा क्षति पुगेको प्रशासनले जनाएको छ।

    बाढीपहिरोमा परी ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जनाको मृत्यु भएको छ। तमानखोलामा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिएका छन्।

    पीडितलाई निसीखोलाको राहत

    बाढीपहिरोबाट प्रभावित परिवारलाई निसीखोला गाउँपालिकाले तत्काल नगद राहत उपलब्ध गराएको छ। गाउँपालिकाले मृतकका परिवारलाई ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार र आंशिक जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले सहयोग गरेको अध्यक्ष सूर्यबहादुर घर्तीले बताए।

    गाउँपालिकाका अनुसार पाँच मृतक परिवारलाई ५० हजारका दरले, पूर्ण क्षति भएका २४ परिवारलाई ३० हजारका दरले र आंशिक क्षति भएका २१ परिवारलाई १० हजारका दरले राहत प्रदान गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑