११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले करिब १२ घण्टापछि छाडेको छ। आइतबार मध्यराति महाराजगञ्जस्थित निवासबाट टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका जबरालाई दिउँसो पौने २ बजे परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई पक्राउ गरिएको नभई सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा राखिएको थियो। कार्यालयका एसएसपी सन्तोष खड्काले सुरक्षा प्रबन्ध मिलाइएपछि जबरालाई छाडिएको बताए।
जबरालाई डीएसपीको नेतृत्वमा गएको टोलीले राति करिब २ बजे प्रहरी कार्यालय पुर्याएको थियो। प्रहरीका अनुसार अदालत वा जरुरी पक्राउ पुर्जीसमेत जारी गरिएको थिएन।
घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो जनाउँदै जबरालाई भेट्न नदिएको विषयमा सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन र कारबाहीको माग गरेको छ। मध्यराति पूर्वप्रधानन्यायाधीशलाई निवासबाट प्रहरी कार्यालय लगिएको घटनाले सुरक्षा र कानुनी प्रक्रियाबारे प्रश्नसमेत उठाएको छ।
जबरामाथि २०७८ फागुनमा महाअभियोग प्रस्ताव दर्ता भई निलम्बन भएको थियो। गत २४ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले महाअभियोगको औचित्य समाप्त भएको भन्दै सम्बन्धित रिट खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस