२०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

१७ वर्षको शैक्षिक धरोहर संकटमा : बनेपा पोलिटेक्निकबारे पूर्वविद्यार्थीको चिन्ता


८४५१ पाठक संख्या
  • २०८३ आश्विन १०, शनिबार मा प्रकाशित १७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । बनेपा पोलिटेक्निक इन्स्टिच्युटको शैक्षिक प्रयोजनका लागि निर्माण गरिएको भवन तथा जग्गा अन्य प्रशासनिक काममा प्रयोग गरिएको विषयलाई लिएर पूर्वविद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन्।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित बनेपा पोलिटेक्निक इन्स्टिच्युटले १७ वर्षको अवधिमा २ हजारभन्दा बढी दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिसकेको उल्लेख गर्दै पूर्वविद्यार्थीहरूले यसको शैक्षिक पूर्वाधारलाई मूल उद्देश्यअनुसार नै प्रयोग गर्नुपर्ने माग गरेका हुन्।

    इन्स्टिच्युटको दोस्रो ब्याचका पूर्वविद्यार्थीसमेत रहेका एक पूर्वविद्यार्थीले खुला पत्रमार्फत शैक्षिक प्रयोजनका लागि निर्माण भएको संरचना स्थानीय तहको प्रशासनिक कार्यालय सञ्चालनमा प्रयोग हुनु दुःखद र गम्भीर विषय भएको बताएका छन्।

    नेपालमा सीटीईभीटीअन्तर्गत ‘डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी’ कार्यक्रम पहिलोपटक यही शिक्षालयबाट सुरु भएको उल्लेख गर्दै उनले बनेपा पोलिटेक्निकलाई केवल भौतिक संरचना नभई हजारौँ युवाको भविष्य निर्माण गर्ने शैक्षिक धरोहरका रूपमा हेर्नुपर्ने बताएका छन्।

    उनका अनुसार यस शिक्षालयबाट उत्पादित प्राविधिक जनशक्ति देशका विभिन्न भूभागका साथै अस्ट्रेलिया, जापान, अमेरिका, बेलायतलगायतका मुलुकमा समेत कार्यरत छन्। यस्तो संस्थाको शैक्षिक वातावरण र पूर्वाधारको संरक्षणमा स्थानीय तह तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

    बनेपा पोलिटेक्निकको भौतिक पूर्वाधार मित्रराष्ट्र चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको उल्लेख गर्दै पूर्वविद्यार्थीले वैदेशिक सहयोगबाट निर्माण भएको शैक्षिक संरचनालाई प्रशासनिक प्रयोजनमा प्रयोग गर्दा त्यसको मूल उद्देश्यमा प्रश्न उठ्ने बताएका छन्।

    प्राविधिक शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा नेपाली युवालाई रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको संरचना अन्य प्रयोजनमा प्रयोग गर्नु उचित नहुने उनको तर्क छ। यस विषयमा सम्बन्धित सरकारी निकायसँगै नेपालस्थित चिनियाँ पक्षको समेत ध्यानाकर्षण हुनुपर्ने उनले बताएका छन्।

    कुनै समय विद्यार्थी सङ्ख्या घटेको भए त्यसलाई शिक्षालयको संरचना अन्य प्रयोजनमा प्रयोग गर्ने आधार बनाउनुभन्दा नयाँ प्राविधिक विषय तथा कार्यक्रम थप्ने, प्राविधिक शिक्षाको महत्वबारे जनचेतना बढाउने र देशभरिका विद्यार्थीलाई आकर्षित गर्ने शैक्षिक योजना अघि बढाउनुपर्ने पूर्वविद्यार्थीको सुझाव छ।

    उनले स्थानीय सरकारको दायित्व आफ्नो क्षेत्रमा प्राविधिक शिक्षालाई थप सुदृढ बनाउने र दक्ष जनशक्ति उत्पादनका लागि वातावरण तयार गर्ने भएको उल्लेख गरेका छन्।

    शैक्षिक परिसरमा प्रशासनिक कार्यालय सञ्चालन हुँदा सेवाग्राहीको आवतजावत, सवारीसाधनको चाप तथा प्रशासनिक गतिविधि बढ्न सक्ने र त्यसले अध्ययन तथा अनुसन्धानको वातावरणमा असर पर्न सक्ने चिन्तासमेत पत्रमा व्यक्त गरिएको छ।

    पूर्वविद्यार्थीले शैक्षिक भवन तथा जग्गा अध्ययन, अनुसन्धान र प्राविधिक शिक्षाकै लागि सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन्।

    उनले बनेपा पोलिटेक्निकको विषयलाई स्थानीय सरोकारको विषयमा सीमित नराखी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सीटीईभीटी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजनीतिक दलका नेतृत्व, नागरिक समाज, विद्यार्थी तथा पूर्वविद्यार्थीसमेतले चासो दिनुपर्ने बताएका छन्।

    बनेपाको शैक्षिक पहिचान र प्राविधिक शिक्षाको आधारका रूपमा रहेको संस्थाको पूर्वाधारलाई मूल उद्देश्यअनुसार प्रयोग गर्ने वातावरण बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने उनको माग छ।

    नगरपालिकाले प्रशासनिक कार्यालयका लागि वैकल्पिक व्यवस्था गरी पोलिटेक्निकको संरचनालाई पुनः अध्ययन, अनुसन्धान र प्राविधिक शिक्षाको वातावरण निर्माणमा प्रयोग गर्नुपर्ने उनको आग्रह छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑