२०८३ आश्विन २४, शनिबार | Sat, 10, Oct, 2026

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै


११७१ पाठक संख्या
  • २०८३ आश्विन २३, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौं, २३ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ। बिहीबार हुने भनिएको मतदान आवश्यक तयारी पूरा हुन नसकेपछि आजका लागि सारिएको हो।

    निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। खराब मौसम, प्राविधिक कारण र साँझ मतदान गर्दा प्रतिनिधिलाई असुविधा हुने भएकाले बिहानबाट मतदान थाल्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ।

    निर्वाचनमा ७ हजार ३१७ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। प्रत्येक प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया पूरा गर्न एक जनालाई करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ।

    मतदानका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र स्थापना गरिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने खुलामञ्चमा अन्य प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित प्रतिनिधिका लागि व्यवस्था मिलाइएको छ।

    खुलामञ्चस्थित तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधि, हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधि तथा पहाड हलमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले मतदान गर्नेछन्।

    मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। मतदान सम्पन्न भएपछि मतपेटिका पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा लगेर मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑