२२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र लामो समयदेखि रहेको गुटबन्दी अन्त्य भएको घोषणा गरेका छन्। १५औँ महाधिवेशनको बन्दसत्र समापन गर्दै थापाले कांग्रेसमा रहेका देउवा, कोइराला, पौडेललगायत सबै समूह अब समाप्त भएको दाबी गरे।
‘कांग्रेसभित्र अब औपचारिक रूपमा लामो समयदेखि रहेका ७४, ३६, देउवा समूह, कोइराला समूह, पौडेल समूहलगायत सबै आजदेखि सकिए,’ थापाले भने, ‘यो महाधिवेशनको सबैभन्दा ठूलो उपलब्धि यही हो।’
पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले मतदानमा गुटगत आधारमा निर्णय नगर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे।
थापाको यस्तो आह्वान भइरहँदा सभापतिका आकांक्षी किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिइसकेका थिए। राठौरको उम्मेदवारी फिर्तापछि सभापतिमा थापासँग प्रतिस्पर्धा गर्ने श्यामकृष्ण खड्गी मात्रै बाँकी छन्। यससँगै थापाको सभापति पदको प्रतिस्पर्धा लगभग औपचारिकतामा सीमित भएको छ।
थापाले राठौरसँगै डा. मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, देवराज चालिसे, योगेश गौचन र मीन भामलगायतलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई समेत फरक मोर्चाको नेतृत्वमा रहेकाले पदाधिकारी प्रतिस्पर्धामा नआउन आग्रह गरे।
विश्लेषक जैनेन्द्र जीवनका अनुसार गुटबन्दी अन्त्य भएको घोषणा गरेपछि त्यसलाई व्यवहारमा प्रमाणित गर्ने चुनौती अब थापाकै काँधमा छ। उनका अनुसार सबै समूह र प्रभावशाली नेताको व्यवस्थापन गर्न सके कांग्रेसमा नयाँ शक्ति–सन्तुलन कायम हुन सक्छ।
थापाले भने नेताहरूको व्यवस्थापन आफ्नो प्राथमिकता हुने बताएका छन्। ‘मिलाउनुपर्छ भन्ने सन्दर्भमा जे गर्न सकिन्छ, जे गर्ने हो सभापतिको रूपमा मेरो जिम्मा हुन्छ,’ उनले भनेका छन्।
गगन थापाको राजनीतिक यात्रा भने गुटभन्दा बाहिरबाट सुरु भएको थियो। १२औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थापा १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीको उम्मेदवार बने। १४औँ महाधिवेशनमा शेखर कोइराला नेतृत्वको प्यानलबाट महामन्त्री निर्वाचित भए।
पछि विश्वप्रकाश शर्मासँग मिलेर थापाले कांग्रेसमा विशेष महाधिवेशनको वातावरण निर्माण गरे। विशेष महाधिवेशनपछि विभिन्न समूहका नेताहरूलाई आफ्नो नेतृत्वमा समेट्दै उनले पार्टीको शक्ति–सन्तुलन बदलिएको दाबी गर्दै आएका छन्।
यसबीच अदालत र निर्वाचन आयोगबाट विशेष महाधिवेशनसम्बन्धी निर्णय आफ्नो पक्षमा आएपछि थापा नेतृत्वको कांग्रेस थप संस्थागत भएको देखिएको छ। १५औँ महाधिवेशनसम्म आइपुग्दा देउवा र कोइराला पक्षमा रहेका धेरै नेता पनि थापा नेतृत्वको प्रक्रियामा सहभागी भएका छन्।
तर गुटबन्दी अन्त्यको घोषणासँगै थापासामु अर्को चुनौती पनि खडा भएको छ—विगतका समूहमा रहेका वरिष्ठ नेताहरूको व्यवस्थापन। पाँच पुस्ताका नेता सहभागी कांग्रेसमा निर्णय प्रक्रिया, अवसरको बाँडफाँट र सबै पक्षलाई समेट्ने शैलीले आगामी नेतृत्वको स्वरूप निर्धारण गर्ने देखिन्छ।
विश्लेषक जीवनका अनुसार सबैको कुरा सुन्ने, निष्पक्ष ढंगले अवसर बाँड्ने र सही समयमा सही निर्णय गर्ने नेतृत्वशैलीले मात्रै गुट पुनः जन्मिन नदिने अवस्था बनाउन सक्छ।

प्रतिक्रिया दिनुहोस